चैत १०, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. ३ हजार तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५ हजार १०० को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
त्यस्तै, नेप्सेले नेपाल दूरसञ्चार कम्पनीको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार २२० दशमलव ८३ तोकेको छ । कम्पनीको बिहीवार रू. १ हजार ४६५ मा अन्तिम कारोबार भएको छ ।
जीवन विकास लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत १२ गते र नेपाल दूरसञ्चार कम्पनीले चैत ११ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
जीवन विकास लघुवित्तले शेयरधनीले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङमा बिहान १०:३० बजे शुरु गर्नेछ ।
त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश करसहित गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरु हुने जानकारी दिएको छ ।