तनहुँमा एक बालकले १० वर्षकै उमेरमा बिजुलीबाट चल्ने स्कुटर बनाएका छन् । शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित नेपाल पुलिस स्कुल कक्षा ५ मा पढ्ने निश्छल रिमालले यस्तो स्कुटर बनाउनुभएको हो । सानै उमेरमा आफैँले बनाएर बिजुलीबाट चल्ने स्कुटर हाँकेपछि बालकले चर्चा कमाउनुभएको छ । प्रविधिमा बढी रुचि राख्ने भएकाले बालकले बिजुलीबाट चल्ने स्कुटर बनाउन सफल भएको नेपाल पुलिस स्कुलका प्रिन्सिपल पुष्पराय क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीले भन्नुभयो, “पढाइका साथसाथै बालक अतिरिक्त क्रियाकलापमा ध्यान दिन्छन् । विशेष गरेर इलेक्ट्रोनिक सामान बनाउनमा उनको धेरै रुचि छ ।” पेट्रोलियम आयातमा धेरै रकम खर्च हुने भएकाले बालकले प्रयोग गरेको प्रविधिलाई सरकारले सहयोग गरेर उद्योग स्थापना गर्नुपर्ने सुझाव प्रिन्सिपल क्षेत्रीको छ ।