भदौ ९, काठमाडौं । १५ ओटा कम्पनीले गत आव चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार गत आवमा १५ ओटा कम्पनीले कुल रू. १ अर्ब ९७ करोड १७ लाख २६ हजार नाफा कमाएका छन् ।
अघिल्लो आवमा १५ ओटा कम्पनीले रू. १ अर्ब ११ करोड ७७ लाख नाफा कमाएको थिए । गत आवमा सबैभन्दा बढी नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स रहेको छ ।
कम्पनीले सो अवधिमा रू. ५६ करोड ८१ लाख नाफा कमाएको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा ११५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. २६ करोड ३२ लाख नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको अन्य सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । त्यसैगरी, दोस्रोमा गोर्खाज फाइनान्सले रू. २० करोड १८ लाख ९६ हजार नाफा कमाएको छ । यस कम्पनीले अघिल्लो आवमा रू. ७ करोड ९४ लाख नोक्सानी व्यहारेको थियो ।
गत आवमा यस कम्पनीको सञ्चालन नाफामा वृद्धि भएसँगै नाफामा सुधार आएको हो । त्यसैगरी वितरणयोग्य नाफाको आधारमा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनीको रू. ४८ करोड ५६ लाख २७ हजार रहेको छ ।
कम्पनीहरुले एनएफरआएस प्रणाली अनुसार विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । प्रतिशेयर आम्दानी पनि यही कम्पनीको सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको रू. ५८ दशमलव ८५ रहेको छ ।
वित्तीय विवरण प्रकाशित गरेका १५ ओटा कम्पनी मध्ये तीन कम्पनीको नाफा घटेकोे छ । अघिल्लो आवको तुलनामा गत आवमा जानकी फाइनान्स, समृद्धि फाइनान्स र नेपाल फाइनान्सको नाफामा कमी आएको हो । १५ ओटा कम्पनीमध्ये कम नाफा समृद्धि फाइनान्सको रू. ४४ लाख ९९ हजार रहेको छ । १५ ओटा कम्पनीमध्ये जानकी फाइनान्स र मल्टीपर्पस फाइनान्सले वित्तीय विवरणमा वितरणयोग्य नाफा उल्लेख गरेको छैनन् ।
गत आवमा १८ ओटा फाइनान्स कम्पनी सञ्चालनमा रहेकोमा युनाइटेड फाइनान्स, ललितपुर फाइनान्स र सिर्जना फाइनान्स घटेका छन् । युनाइटेड फाइनान्सलाई नबिल बैंकले प्राप्ति गरेको छ । त्यसैगरी सिर्जना फाइनान्सलाई सिटिजन्स बैंकले प्राप्ति गरेको छ भने नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो । यसरी नेप्सेमा १५ ओटा फाइनान्स कम्पनीको शेयर कारोबार हुँदै आएको छ ।
स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण