भदौ ३०, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा आउने भएको छ ।
मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर कात्तिक ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आउन लागेको हो ।
मञ्जुश्री फाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. २७५ र ज्योति विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १८५ तोकिएको छ । यो शेयर खरीदका लागि कम्पनीहरुका विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।