चैत १७, चितवन । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या सन्तोषजनकरुपमा वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा आएका पर्यटकको संख्याभन्दा चालू आर्थिक वर्षको ८ महीनामा आएका पर्यटकको संख्या बढेको छ ।
यस अविधिमा निकुञ्जमा एक लाख आठ हजार २५४ पर्यटकले भ्रमण गरिसकेका छन् । निकुञ्जमा आव २०७७/७८ मा घुम्न आउने पर्यटकको संख्या ९२ हजार २०९ मात्रै थियो । त्यस्तै आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले भ्रमण गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आवको पहिलो ८ महीनामा विदेशी पाँच हजार ३९४ मध्ये दुई हजार ५४० महिला र दुई हजार ८५४ पुरुष थिए । तीमध्ये सार्क मुलुकका चार हजार ८६५ जना थिए । आन्तरिक पर्यटकको संख्या भने उल्लेख्य मात्रामा रहेको छ ।
चालू आवको ८ महीनामा ९७ हजार ८९५ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा ४९ हजार सात महिला र ४८ हजार ८८८ पुरुष रहेका र गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेका उनले जानकारी दिए ।
पछिल्लो ८ महीनामा निकुञ्ज प्रवेश गरेका एक लाख ८ हजार २५४ पर्यटकमध्ये ५३ हजार ८०९ महिला र ५४ हजार ४४५ पुरुष रहेका छन् ।
गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका र एक हजार २४४ अन्य मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी तिवारीले बताए । गत आवमा कोरोना संक्रमणको त्रासका कारण लामो समयसम्म अन्तरराष्ट्रिय हवाई उडान नभएकाले सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको संख्यामा कमी आएको हो ।
आव २०७७/७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष पुगेका थिए । त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका थिए ।
पर्यटकले निकुञ्जमा हात्ती, जीप, डुङ्गा, पैदल सफारी गर्ने गर्दन् । दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत जनावर, चराचुरुङ्गी, वनस्पति, घडियाल गोही, माछालगायत अवलोकन गर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । रासस