वैशाख १४, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आगामी वैशाख २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनका लागि नेपा धितोपत्र बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।
कम्पनीले आधारभूत शेयरधनीहरुलाई बुक क्लोजको मिति तय गर्नुपूर्वनै चैत २८ गते सूचना जारी गर्दै अग्रिम रुपमा रकम जम्मा गर्न आग्रह गरेको थियो ।
धितोपत्र बाँडफाँट निर्देशिका, २०७४ को व्यवस्था बमोजिम संचालिक लगाएत आधारभुत शेयरधनीहरुसँगै चुक्तापूँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर धारणगर्ने शेयरधनीहरुले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयर वापत्को रकम शेयर सार्वजनिक निष्काशन हुनु पूर्वनै बुझाउनु पर्ने हुन्छ ।
सोही व्यवस्था बमोजिम सम्बन्धीत शेयरधनीहरुले आगामी १५ दिनभित्र रकम जम्मा गर्न कम्पनील भनेको हो । यो हकप्रद शेयर विक्रीको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ ।
कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष ०६७/ ६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन् ।
कम्पनीले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।
हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।