काठमाडौं। ताइवानमा शुक्रवार सम्पन्न ताइवान इन्टरनेशनल साइन्स फेयरमा नेपालले इन्जिनियरिङतर्फको विधामा चौथो स्थान हासिल गरेको छ । प्रदर्शनीमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न गएका हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाइबाको कृषि प्रविधिमा आधारित ‘एग्रो–गार्ड’ रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गरेको हो । गणित, रसायनशास्त्र, इन्जिनियरिङ लगायतका फरक फरक १३ विधा समेटिएको उक्त प्रदर्शनीमा जापान, अमेरिका, सिंगापुर, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड लगायतका २७ भन्दा बढी देशका राष्ट्रियस्तरबाट छनोट भएका उत्कृष्ट युवा वैज्ञानिक विद्यार्थी सहभागी थिए ।
२० वर्षभन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका विद्यार्थीको वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तरराष्ट्रियस्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष ताइवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेशन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना गर्दै आएको छ । प्रदर्शनीमा यस वर्ष ६३० जना विद्यार्थी अनुसन्धानकर्ताद्वारा विज्ञान, सूचना प्रविधि, नवप्रवर्तनसम्बन्धी अनुसन्धानका ३५९ प्रोजेक्ट राखिएका थिए ।