बस्तीमाथिको झरनाबाट आएको चर्को आवाजले आइतबार बिहान २ बजेतिर धार्चे–५ गुम्दास्थित रेसेफाँटका सञ्जय गुरुङको निद्रा खुल्यो । लगत्तै घरको छानामा ससाना ढुंगा खसेको सुनिन थाले । उठेर हेर्दा लेदोसहितको पहिरो बगिरहेको देखे । हेर्दाहेर्दै पहिरो छिमेकी जितबहादुर गुरुङको घर भएर बग्यो । ‘वाटर इनर्जी प्रालि हाइड्रोपावरका कामदार सहित जितबहादुरको परिवार त्यही घरमा थिए,’ सञ्जयले सुनाए ।