असार २२, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सुजिता भण्डारी मृत्यु प्रकरणका कारण आन्दोलनले उग्ररुप लिएपछि राप्ती नगरपालिकामा निषेधाज्ञा लगाएको छ ।
मंगलवार साँझ साढे ७ बजेदेखि बुधवार बेलुका साढे सात बजेसम्म निषधाज्ञा लागू गरिएको हो ।जिल्ला प्रशासन कार्यालय, चितवनले सुजिता प्रकरणमा प्रर्दशनकारीले राजमार्ग अवरोध गरी सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको र स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा हस्ताक्षरित आदेशमा पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
लामो दुरीका यातायात बाहेक कुनै आगमन गर्न नपाइने आदेशमा उल्लेख छ । आदेशमा यदि निषेधाज्ञालाई बेवास्त गरी त्यस्ता क्रियाकलाप गरेमा सुरक्षाकर्मीले गिरफ्तार गरी एक महीनासम्म कैद हुने उल्लेख छ ।
प्रहरीले सुजिता हराएको बिषयमा सक्रियता नदेखाएको र घटनाको सत्यतथ्य माग गर्दै दिनभर जसो प्रर्दशनकारीले विरोध गर्दै आएका छन् । प्रर्दशनकारीले टायर बालेर राजमार्ग अवरुद्ध पारेको र सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेका थिए ।
स्थानीय र प्रहरीको झडपमा केहि प्रहरीहरु पनि घाइते भएका छन ।