नेपालीका प्रायःजसो घरमा अत्यधिक वाचन गरिने कथा हो– श्री स्वस्थानी व्रतकथा । के गाउँ के सहर सबै ठाउँमा उत्तिकै धार्मिक भावमा उत्साहित भएर यो कथा पढिन्छ । चार सय वर्षभन्दा पनि अघिदेखि सुरु भएको यो धार्मिक अनुष्ठानको परम्परा यद्यपि कायमै छ । स्वस्थानी शैव र वैष्णव कथालाई मिश्रण गरेर रचिएको कथा हो । यसमा शिव र विष्णुको अन्तरसम्बन्धलाई मूर्तरूप दिइएको छ । हरिहरको एकाकार रूपलाई दर्शाइएको छ । तथापि मूल रूपमा यो शिव र पार्वतीको प्रेम कथा हो; जसमा विभिन्न उपकथा समय र स्थानका हिसाबले मेल खाने गरी जोडिएको पाइन्छ ।