भदौ ९, काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधवार अरुण काबेली पावर लिमिटेडको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
यो दिन कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. ४८ करोड ७१ लाख ५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७८८ दशमलव ९० कायम भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा ११ रुपैयाँले वृद्धि भएको हो । कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर, थापाथलीमा हुने छ । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ ।
साथै सभाले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ १५ गतेदेखि २५ गतेसम्म बन्द हुनेछ । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।