कञ्चनपुर । भीमदत्त नगरपालिका-९ ब्रह्मदेवका ६३ वर्षीय परदेशी दमाई नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै बस्दै आएका छन् । डडेलधुरा अजयमेरुको थातथलोबाट चौपायासहित उनी यहाँ आएको ३५ वर्ष भयो ।
सहज जीवनयापनको खोजीमा तराई झरेका उनको परम्परागत पेशा सिलाइकटाइ भए पनि शीप नहुँदा उनले मजदुरी गरेर परिवारको खर्च चलाउँदै आएका छन् । ‘पहाडमा आफ्नो सम्पत्ति थिएन,’ उनले भने, ‘जीविका चलाउनै अप्ठ्यारो भएपछि यहाँ आएको हुँ ।’
उमेर छँदा नजिकको वन क्षेत्र र महाकाली नदीले बगाएर ल्याउने दाउरा संकलन गरी भारतीय बजार टनकपुरसम्म पुगेर बेच्ने गरेको उनले बताए । ‘भारतीय बजारमा दाउरा बेच्दै साँझबिहान छाक टार्दै आएको थिएँ,’ उनले भने, ‘दाउरा संकलन नगरेका बेला मजदुरी गर्थें ।’ उमेर ढल्किँदै जाँदा अहिले उनले दाउरा बोक्न सक्दैनन् । मजदुरी गर्ने अवस्था पनि छैन उनको ।
मुक्तहलिया पुनःस्थापना कार्यक्रमले उनी बस्ने घर त बनाइदिएको छ । भारतीय सुरक्षाकर्मीबाट उनको घरमा जस्तापाता लगाउन अवरोध भयो । त्यसैले प्लास्टिकको त्रिपाल राखेर काम चलाएको उनले बताए ।
दमाई परिवार बसोवास गरेको जग्गा दशगजामा पर्छ भन्दै भारतीय सुरक्षाकर्मीले पाँच वर्षअघि जस्ता राख्न नदिएको उनले बताए । भारतीय पक्षबाट सताउने कार्य भने नभएको उनले बताए । भारतीय सुरक्षाकर्मीको डरले यहाँका अधिकांश परिवारले पुनःस्थापना कार्यक्रमअन्तर्गत पाएको घरमा छाना हाल्न पाएका छैनन् ।
परदेशीजस्तै सीमा क्षेत्रमा बस्दै आएका मदन सार्कीको घरको छानोमा पनि त्रिपाल राखिएको छ ।
त्रिपालबाट वर्षात्का बेला भिज्दै रात काट्नुपर्ने बाध्यता रहेको यहाँका बासिन्दाको दुखेसो छ । ‘आर्थिक विपन्नताका कारण उपचार गर्न नसक्दा भाइ र बुवाको मृत्यु भो,’ उनले दुखेसो पोखे, ‘तीन दशकदेखि यहाँ बस्दै आए पनि विपन्न लागि आर्थिक अवस्था सुधारका लागि कुनै निकायबाट पनि गतिलो कार्यक्रम आएको छैन ।’
सीमा क्षेत्रमा बस्दै आएका परिवारको आम्दानीको एक मात्रै माध्यम मजदुरी हो । ‘मजदुरी गर्न पाउँदा पेटभरि खान पाइन्छ,’ उनले भने, ‘मजदुरी नपाएर कयौं दिन भोकै पनि बस्नुपरेको छ ।’
सीमा क्षेत्रकै ब्रह्मदेवमा बस्दै आएकी बसन्ती ढिकालसँग पनि आफ्नो स्वामित्वको घरजग्गा छैन । अर्काको जग्गामा झुपडी बनाएर बस्दै आएकी ढिकालका श्रीमान् पाँच वर्षअघि कमाउनकै लागि भनेर भारत गएका थिए । गएपछि उनी अहिलेसम्म घर नफर्किएको उनले बताइन् । -रासस