काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारितका लागि एकै दिन वार्षिक साधारण सभा बोलाएका छन् । दुवै कम्पनीले फागुन १२ गते वार्षिक साधारण सभा बोलाएका हुन् ।
रिलायन्स लाइफले लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौं र सानिमा लाईफले कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही, काठमाडौंमा सभा गर्न लागेका हुन् । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् । मर्जरका लागि सहमति भएको शेयर स्वाप रेसियोलाई दुवै कम्पनीले सभामार्फत स्वीकृति दिनेछन् ।
दुवै कम्पनीको सञ्चालकहरूको कार्यकाल साधारण सभाको दिनसम्म कायम रहेकाले नेपाल बीमा प्राधिकरणको स्वीकृतिबमोजिम एकीकृत कारोबार हुनुअघिसम्मको लागि थप गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछन् । दुवै कम्पनीको शेयर संरचना हाल संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेकोमा उक्त शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
उल्लेखित प्रस्तावहरूसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत सभाले पारित गर्नेछ । दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २९ गते बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजका आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।