सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जर गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ करोड १८ लाख ४० हजार  कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेकोमा बिहीवार कारोबार फुुकुवा गरिएको हो । मर्जरपछि बनेको कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ३९१ दशमलव ८८ ओपनिङ रेञ्ज तोकेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । स्टक सिम्बोल एसआरएलआई रहेको छ ।  

सम्बन्धित सामग्री

सानिमा रिलायन्स लाइफको बिमा सचेतना कार्यक्रम

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रामेछापको मन्थली माविमा बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा केडिया नियुक्त

काठमाडौँ- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. को सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।   अब कम्पनीले आगामी वार्षिक साधारणसभाबाट उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेछ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४ करोड ८५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ११ करोड ८ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १६५ प्रतिशत वृद्धि हुँदा गत आवमा कम्पनीको कुल आम्दानी रू. ६८ करोड ६३ लाख रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ८२ करोड पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १८ करोड छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा रू. ८२ करोड ४६ लाख र महाविपत्ति कोषमा रू. १० करोड ७५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको जीवन बीमा कोषमा रू. ११ अर्ब ८२ करोड छ । त्यस्तै कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ ६० पैसा पुगेको छ । चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ९१ गुणा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७६ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

साढे ८ अर्बको हकप्रद निष्कासन गर्दै बीमा कम्पनी

काठमाडौं । नियामकले तोकेको चुक्ता पूँजी पुर्‍याउन बाँकी रहेका १० ओटा बीमा कम्पनीले झन्डै साढे ८ अर्ब रुपैयाँको हकप्रद शेयर निष्कासनको स्वीकृति पाएका छन् । उनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको हो ।  प्राधिकरणले पाँचओटा जीवन बीमा र त्यत्ति नै संख्याका निर्जीवन बीमा कम्पनीलाई ८ अर्ब ४८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनको लागि स्वीकृति दिएको छ ।  प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी तोकेको छ । प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी कम्पनीहरूले मर्जपछि पनि नपुर्‍याएपछि प्राधिकरणले हकप्रद निष्कासनको बाटो खुलाएको हो ।  निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी ६६ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ । प्राधिकरणले जीवन बीमातर्फ पाँचओटा कम्पनीलाई ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि स्वीकृति दिएको छ । जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सबैभन्दा बढी ८६ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ । कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने स्वीकृति पाएको छ । दोस्रोमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत र तेस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत हकप्रद निष्कानको स्वीकृति पाएको छ ।  यस्तै प्राधिकरणले निर्जीवन बीमातर्फ पाँचओटा कम्पनीलाई २ अर्ब ८५ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि स्वीकृति दिएको छ । निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी ६६ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ । उसले ९६ करोड ३१ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासनको स्वीकृति पाएको हो । यस्तै दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२ प्रतिशत र तेस्रोमा नेको इन्सुरेन्स लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड दुवैले २५–२५ प्रतिशत हकप्रद निष्कासन अनुमति पाएका छन् ।  नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले न्यूनतम चुक्ता पूँजी कायम गर्न नसकेका बीमा कम्पनीलाई हकप्रद निष्कासनको बाटो खुलाइएको बताए । ‘प्राधिकरणको पूँजी वृद्धिको पहिलो प्राथमिकता मर्जर थियो । अब हकप्रद निष्कासनको बाटो खोलेर न्यूनतम चुक्ता पूँजी कायम गर्ने मौका प्राधिकरणले दिएको छ,’ उनले भने ।

२७ प्रतिशत बढ्यो बीमालेख धितोमा कर्जा, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जा अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा २७ दशमलव १६ प्रतिशतले बढेको छ ।  १४ जीवन बीमा कम्पनीहरूले गत आवमा कुल रू. ८४ अर्ब ८९ करोड बराबरको यस्तो कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो आवको सोही अवधिको भन्दा रू. १८ अर्ब १३ करोड बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले कुल रू. ६६ अर्ब ७६ करोडभन्दा बढी यो कर्जा प्रवाह गरेका थिए ।  पछिल्लो समय बीमित (बीमा गर्ने व्यक्ति)को संख्या तथा बीमा शुल्क संकलन बढ्दै गएकाले बीमालेख धितो राखेर कर्जा लिने बीमितको संख्या पनि बढ्दै गएको छ । १४ कम्पनीमध्ये रकमका आधारमा सर्वाधिक बीमालेख धितोमा कर्जा प्रवाह गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । यस कम्पनीले गत आवमा रू. ३० अर्ब ४५ करोडभन्दा बढी यो कर्जा प्रवाह गरेको हो । सर्वाधिक बीमालेख धितोमा कर्जा प्रवाह गर्ने कम्पनीको सूचीमा दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल छ । कम्पनीले रू. २१ अर्ब ७१ करोडभन्दा बढी यस्तो कर्जा प्रवाह गरेको छ ।  गत आवमा प्रतिशतका आधारमा सर्वाधिक बीमालेख धितोमा कर्जा वृद्धि गर्नेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स छ । गत आवमा कम्पनीको बीमालेखको धितोमा कर्जा ४०८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष यस कम्पनीले रू. २० करोड ५६ लाख कर्जा प्रवाह गरेकोमा गत आवमा रू. १ अर्बभन्दा बढी बीमालेखको धितोमा राखेर कर्जा प्रवाह गरेको हो ।  बीमालेख धितोमा कर्जा लिनका लागि बीमितले कम्तीमा पनि दुईओटा किस्ता प्रिमियम बुझाएको हुनुपर्छ । कर्जा लिँदा बीमितले बीमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बीमितले कम्पनीमा बुझाएको बीमा शुल्कको आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् । बीमा प्राधिकरणको प्रावधानअनुसार बीमा शुल्कको समर्पण मूल्यांकनपछि कम्पनीहरूले अधिकतम ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । समर्पण मूल्य भनेको बीमितले नै पाउने रकम हो । बीमा कम्पनीहरूले प्रवाह गरेको बीमालेखको धितो कर्जा

जेठमा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन ११.३० प्रतिशत बढ्यो

काठमाडौं । वैशाखको तुलनामा जेठमा जीवन बीमा कम्पनीहरूको कूल बीमा शुल्क आर्जन ११ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । वैशाख मसान्तमा बीमा कम्पनीहरूले कुल रू. ९ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेका थिए । जेठमा भने ती कम्पनीहरूले रू. १० अर्ब ४३ करोडको बीमा शुल्क आर्जन गरेका छन् ।  आर्थिक मन्दी हुँदा पनि अधिकांश जीवन बीमा कम्पनीहरूले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।  नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार जेठमा चार कम्पनीको बीमा शुल्क आर्जन घटेको छ भने बाँकी ११ कम्पनीको बीमा शुल्क आर्जन बढेको छ । तीमध्ये नेशनल लाइफ इन्स्यारेन्स कम्पनीको बीमा शुल्क आर्जन सबैभन्दा बढी ६३ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले वैशाखमा रू. १ अर्ब २ करोड बीमा शुल्क आर्जन गरेको थियो । जेठमा भने कम्पनीको बीमा शुल्क आर्जन रू. १ अर्ब ६७ करोड पुगेको छ ।  यो सूचीमा दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स छ । कम्पनीको बीमा शुल्क आर्जन वैशाखको तुलनामा जेठमा ३२ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । वैशाखमा यस कम्पनीले रू. ३४ करोड ५ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा कम्पनीले रू. ४५ करोड १७ लाख बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन ४० दशमलव २२ प्रतिशत घटेको छ । कम्पनीले वैशाख मसान्तसम्ममा रू. ४७ करोड ८३ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा उक्त रकम रू. २८ करोड ५९ लाखमा झरेको हो ।

सानिमा रिलायन्सको कार्यक्रम सम्पन्न

काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेल्स स्किल एण्ड डेभलपमेन्ट कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको पाटन रिजन अन्तर्गतका क्रियाशिल एजेन्सी मेनेजरहरुलाई सेल्स स्किल्स एण्ड मोटिभेसनल अन्तरक्रिया गरी रिजनल एजेन्सी कन्फ्रेन्स ब्लु बर्ड मल, थापाथली स्थित पार्टीयार्ड हस्पिटालिटीमा शनिवार सम्पन्न गरेको हो।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर भोलि देखि १५ दिन रोक्का हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर  भोलि अर्थात् चैत ९ गतेदेखि १५ दिन रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’ को निर्देशनअनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै कम्पनीको शेयर बिहीवारदेखि रोक्का हुने भएको हो ।  सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सहमति भई चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू हुँदै छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् ।  मर्जरपश्चात् बन्ने कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर रहने जानकारी दिइएको छ ।