काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका छिट्टै जारी गरिने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा बिहीवार मन्त्री भण्डारीले यस्तो बताएका हुन् । भेटमा व्यवसायीले आफूहरूले भोग्नुपरेका समस्या अवगत गराएका थिए । राज्यले माग सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायबाट यसको सुनुवाइ नभएको उनीहरूको गुनासो थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । निर्देशिकाकै अभावमा कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको उनको भनाइ छ । त्यस क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आ–आफ्नो तर्फबाट व्यवसायीका समस्या जानकारी गराएका थिए ।