काठमाडौं । नेपालमै पहिलोपटक अम्रिसोबाट कागज बनाइएको छ । ब्रिटिश काउन्सिलको सहयोगमा गैरसरकारी संस्था विघ्नहर्ता नेपालले अम्रिसोबाट कागज बनाउने सफल परीक्षण गरेको हो ।
संस्थाकी सहसंयोजक रजिया बानुले नेपालमा पहिलोपटक अम्रिसोबाट कागज बनाइएको दाबी गरिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका एक कर्मचारीले पनि नेपालमा अहिलेसम्म अम्रिसोबाट कागज बनेको आफूले जानकारी नपाएको बताए ।
संस्थाकी सहसंयोजक बानुले कागज बनाउन २० प्रतिशत बाबियो, ४० प्रतिशत लोक्ता र ४० प्रतिशत अम्रिसोको प्रयोग गर्ने गरेको बताइन् । उनले अम्रिसोबाट बन्ने कागज गुणस्तरीय हुने दाबी गरिन् । ‘कागजको गुणस्तर मेसिनमा पनि भर पर्छ । राम्रो मेसिन भए यसबाट अल्लोभन्दा राम्रो कागज बनाउन सकिन्छ,’ उनले भनिन् ।
यसबाट बन्ने कागज बहुउपयोगीसमेत भएको उनको दाबी छ । ‘यो कागज विभिन्न वस्तु तथा संरचना निर्माणमा प्रयोग गर्न सकिन्छ,’ उनले भनिन् । मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित चेपाङ बस्तीलाई उक्त कागज बनाउने मेसिन हस्तान्तरण गर्ने योजना रहेको उनले बताइन् । साथै, कागजको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्ने योजना छन् ।
‘चेपाङ समुदायलाई आर्थिक गतिविधिमा जोड्नुपर्ने छ,’ उनले भनिन्, ‘अम्रिसोबाट कुचोे, डाँठबाट कागज र डाँठबाट निस्किएको फोहोरबाट बायोमास बनाएर चेपाङ समुदायलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्ने योजना छ ।’