गत निर्वाचनको जनादेशअनुरूप काम गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान बाध्य भएको जिकिर गर्दै प्रतिनिधिसभा विघटन गरेपछि यस कदमलाई प्रतिगमन र अधिनायकवादको बिल्ला भिराउँदै एउटा तप्का आन्दोलनको रोटी सेक्न उद्यत छ । चुनावमा बत्ती निभाएर मतपेटिका साटी विजयी भएका तथा दुई–दुई ठाउँबाट चुनाव हारेर पनि प्रधानमन्त्री भएका व्यक्तिहरूकै स्वार्र्थ यात्राको भोक मेट्न यो आन्दोलन चलेको कुरा ‘ओपन सेक्रेट’जस्तै छ । ‘आन्दोलनलाई अलि आक्रामक बनाउनुप¥यो, ‘ननभेज’ आन्दोलन नभई हुँदैन’ जस्ता उत्तेजक अभिव्यक्ति स्वयम् पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मुखबाट निस्कनुले देशलाई पुनः हिंसातर्फ धकेल्ने खतरा बढेको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली वृहत् शब्दकोशमा प्रतिगमनको अर्थ नियाल्दा ‘पछिल्तिर फर्कने काम, फर्काइ, फिर्ती, प्रत्यागमन’ लेखिएको छ । यिनै अर्थसँग प्रतिनिधिसभाको विघटन र ताजा जनादेशमा जाने कदमलाई दाँज्दा कहीँ पनि मेल खाएको देखिँदैन ।
पहिलो, प्रतिनिधिसभा विघटन पछाडि फर्कनका लागि होइन, अघि बढ्नका लागि चालिएको कदम हो । अर्थात् ताजा जनादेश पुरानो जनादेशभन्दा एक कदम अगाडि बढ्ने कुरा हो, पछाडि फर्कने कुरा होइन । नेपालको संविधानले नै जनतालाई सार्वभौमसत्ता सम्पन्न भनेको हुँदा उनै जनताकोमा नयाँ जनादेश लिन जाने कुरा प्रतिगमन हुन सक्दैन । जसरी एकपटक पुस्तक छापिएपछि त्यसमा पाठकका प्रतिक्रिया समावेश गरेर नयाँ संस्करण छाप्नुलाई एक कदम अगाडि बढेको ठानिन्छ । त्यसैगरी, पुरानो जनादेशको थप परीक्षणका लागि नयाँ जनादेशमा जाने बाध्यात्मक कदम नयाँ संस्करणको पुस्तक पाठकको मागबमोजिम छापिएजस्तै हो ।