काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सवारीसधान पार्किङमा रोक लगाएको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरीको सहयोगमा महानगर प्रहरीले मंगलबार उक्त क्षेत्रमा माइकिङ गर्दै पार्किङ गर्न नपाइने जानकारी दिएको हो । हालसम्म अन्नपूर्ण होटलतर्फको सडकमा सवारी पार्किङ गरिँदै आइएको थियो । ‘आज (मंगलबार) बाट हामीले दरबारमार्गका दुवै किनारामा पार्किङ सुविधा हटाएका छौं,’ महानगर प्रहरी निरीक्षक राजेन्द्र देवकोटाले कान्तिपुरसँग भने, ‘ट्राफिक जामको समस्या धेरै भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरेर यस्तो व्यवस्था गरेका हौं ।’