काठमाडौं उपत्यका बाहिर ग्रामीण क्षेत्रमा बस्ने कविता कार्की (परिवर्तित नाम)लाई आकाश बर्मा नाम गरेका व्यक्तिले ह्वाट्स एपमा फोन गरेर भने, ‘कोभिड–१९ लक्की ड्र पुरस्कार २५ लाख तपाईले जित्नुभयो, खाता नम्बर पठाउनुस् ।’ करिब दुई महिनाअघि अपरिचितले गरेको त्यो ‘आकर्षक फोन’ले कविता फुरुक्क भइन् । सिद्धार्थ बैंकमा रहेको आफ्नो खाता नम्बर उनले पठाइन् । बर्माले मोबाइलमा आएको ओटीपी कोड पठाउन आग्रह गर्दै भने, ‘तपाईको बैंक खाता एक्टिभ गराएर लट्री रकम जम्मा गराइदिन्छु ।’