भदौ १९, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेककटहरेमा रहेको लक्ष्मीखोला लघु जलविद्युत् आयोजनाबाट ३६० घरधुरीले लाभ लिइरहेका छन् ।
राष्ट्रिय प्रसारण लाइनमा विद्युत् अनियमितता भइरहेको बेला स्थानीय समुदायले आफ्नै अग्रसरतामा सञ्चालन गरिरहेका लघु विद्युत् आयोजनाले गाउँ झलमल्ल पारेको छ ।
राष्ट्रिय प्रसारण लाइनमा वा ठूला जलविद्युत् परियोजनाको विग्रिदा पुनर्निर्माण सुस्त गतिमा अघि बढिरहँदा लक्ष्मीखोला जलविद्युत् आयोजनाले गाउँमा हालसम्म नियमित गाउँलाई नियमित विजुली दिइरहेको छ । सरकारले विद्युत् संकट कम गर्न लघु जलविद्युत् आयोजनाको निर्माणलाई प्रवर्द्धन गर्ने नीति लिएको देखिन्छ । लघु जलविद्युत् आयोजनाबाट प्रति वर्ष कम्तीमा ५ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा सरकारले यसअघि नै गरेपनि त्यो लागू गर्न चुनौतिहरु देखिएका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. १ मारेककटहरेमा रहेको लक्ष्मी खोला जलविद्युत् आयोजनाले वि.सं. २०६८ सालदेखि नियमित ४० किलोवाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । त्यतिबेला एक करोड २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको उक्त आयोजनाले १० वर्ष पूरा गरिसकेको छ । विद्युत् उत्पादन गर्न स्थानीयले २०६६ सालदेखि वैकल्पिक ऊर्जासँग सहकार्य गरेका थिए । विद्युत् उत्पादन गर्न वैकल्पिक उर्जाले ५० लाख र तत्कालिन मारेककटहरे गाउँ विकास समितिले ४ लाख रुपैयाँ अनुदान दिएका थिए भने बाँकी ७१ लाख रुपैयाँ लक्ष्मी खोला लघु जलविद्युत् सहकारी संस्थाका शेयर सदस्यबाट संकलन गरिएको थियो ।
लघु जलविद्युतको विकासले विद्युत् पहुँचमा वृद्धि
लघु तथा साना जलविद्युत् आयोजनको विकास र सञ्चालन पश्चात धेरै ग्रामीण क्षेत्रका नागरिकको जीवनयापनमा सहजता आएको छ । नेपालमा स्थापना भई सञ्चालनमा आएका रहेका धेरै लघु तथा साना जलविद्युत् आयोजनाका कारण विद्युतीकरणको थालनी क्रमिक रुपमा बढेको हो । महालक्ष्मी १ स्थानीय २०६८ सालभन्दा पहिलेको समयमा अन्धकारमै वा टुकी बत्ती बालेर आफ्नो जीवन चलाइरहेका थिए ।
शहरी क्षेत्रमा सूचना प्रविधिका साधनको प्रयोग बढ्दै गर्दा यस क्षेत्रमा विद्यार्थी कम्प्युटर शिक्षा प्राप्त गर्न सफल भइरहँदा त्यहाँका विद्यार्थीहरुले घाम छदैमा आफ्नो गृहकार्य सक्नुपर्ने र अन्धकारमै टुकी तथा झुम्रे बत्तीमा पढ्न बाध्य थिए । पुराना पुस्ताका धेरै ज्येष्ठ नागरिकले विद्युतबाट बलेका चिमसम्म देख्न पाएका थिएनन् ।
वि सं २०६८ साल पश्चात लक्ष्मीखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि जल ऊर्जाको पहुँच विस्तार भएसँगै जीविकोपार्जनमा सहजता आएको छ । स्थानीय लक्ष्मी खोलाबाट ४० किलोवाट क्षमतामा उत्पादन गरिएको जलविद्युतले धेरै नागरिकको आधारभूत आवश्यकता प्राप्त गर्न सहज भएको छ । आफ्ना पुर्खाले सिंगो जीवन अन्धकारमै गुजार्नु पर्ने बाध्यता ग्रामीण क्षेत्रका नागरिकको नियति बनेको थियो ।
लघु जलविद्युत् आयोजनाले मूर्त रुप पाएसँगै स्थानीयको जीवनशैली फेरिएको हो । घरमा बत्ती बाल्ने, विद्यार्थीका निम्ति पढ्न सहज, अध्ययन, घर घरमा मोबाइलको प्रयोग, टेलिभिजन तथा राईसकुकरको प्रयोग बढेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा सञ्चालनमा आएको लघु जलविद्युत् आयोजनाले एक सफल उदाहरण बनेको छ ।
माग धान्न समस्या
राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनिमितता हुँदा देशका अधिकांश स्थान लामो समयसम्म अन्धकार रहँदा पनि सधैँ विजुली बाल्ने यो मारेककटहरे गाउँ विद्युतमा सम्पन्न देखिन्छ । जलविद्युत् उत्पादन सहकारीका अध्यक्ष तेजबहादुर अधिकारीका अनुसार यहाँ ४० किलोवाटसम्म विद्युत् उत्पादन हुँदै आएको छ ।
उत्पादन भएको निकै समयसम्म विद्युतको माग पुर्याउँदै आएकोमा अहिले घरघरमा उपकरण बढेकोले विद्युतको माग बढेको अध्यक्ष अधिकारीले बताए ।
उनले मारेककटहरेमा अहिले व्यवसायिक रुपमा पशुपालन बढेकोले च्यापकटर प्रयोग हुँदा एउटै घरमा २ किलोवाटसम्म विद्युत् खपत हुने गरेकाले माग पूरा गर्न समस्या रहेको बताए । अधिकारीका अनुसार बेलुका ५ देखि ९ बजेसम्म र बिहान ५ देखि ९ बजेसम्म माग धान्न समस्या भएको छ भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उत्पादन भएको विद्युत पनि खपत भएको छैन ।
उनले सबै घरमा बत्ती बाल्न र टिभी चलाउन र मोबाईल चार्ज मात्रै प्रयोग हुँदा समस्या नभएको बताए । अधिकारीले मेसिनको आरामको लागि र पोल बनाउनको लागि दैनिक २ घण्टा लाइन काट्ने गरिएको बताए । अधिकारीका अनुसार विद्युतको माग कम भएको समयमा वैसाखदेखि भदौसम्म दिउँसो ३ देखि ५ बजेसम्म र असोजदेखि चैतसम्म दिउँसो २ देखि ४ बजेसम्म लाइन काट्ने गरिएको छ ।
विद्युत् महशुल महँगो
लघु जलविद्युत् सहकारी गाउँलेहरुलाई उज्यालो बनाएर अहिले नाफा कमाउनमा व्यस्त छ । तर, राष्ट्रिय प्रसारण लाइनको भन्दा विद्युत् शुल्क निकै महँगो तिर्न स्थानीय बाध्य छन् । राष्ट्रिय प्रसारण लाइनको विद्युत् महशुल २० युनिटसम्म निःशुल्क बनाउने चर्चा चलिरहेको बेला लघु जलविद्युत् आयोजनाका उपभोक्ता भने ८ युनिटसम्मको १०० रुपैयाँ शुल्क तिर्न बाध्य छन् ।
आयोजनाले ८ युनिटदेखि २० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ र २० युनिटदेखि माथि प्रतियुनिट ६ रुपैयाँका दरले महशुल लिँदै आएको स्थानीय हिस्मा मगरले बताइन् । उनले आधारभूत उपकरण चलाउन र विद्युत् अनियमितताको कुरा नभएपनि विद्युत् महशुल निकै महँगो तिर्नुपरेको गुनासो गरिन् ।
यता सहकारीले भने शुरुमा लागत खर्च बढी भएकाले यही शुल्क कायम गरिएको र अहिले राष्ट्रिय प्रसारण लाइन सस्तो भएकाले यो गुनासो आएपनि पहिले राष्ट्रिय प्रसारण लाइन पहुँच बाहिर हुँदा यस्तो गुनासो नरहेको जानकारी दिएको छ । महशुल घटाउन सक्ने अवस्था नरहेको भएपनि राष्ट्रिय प्रसारण लाइन जोड्न पहल भइरहेको सहकारीले जानकारी दिएको छ ।