चैत २४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको आधा घण्टाको अवधिमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका १९४ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७०० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबार शुरु गरेको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएका हुन् । कम्पनीको आईपीओ नेप्सेमा गत चैत १३ गते सूचीकृत भएको थियो ।
दोस्रो बजारमा कारोबारमा आएको बिहीवार नवौं दिन लगातार सकारात्मक सर्किट लेबलमा वृद्धि हुँदै आएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू.२६० दशमलव ८४ देखि ७८२ दशलमव ५२ तोकेको थियो ।