वैशाख ७, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार सवा दुई घण्टाको अवधिमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ ।
सो अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको १३ करोड ९० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ७१० दशमलव ३० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो । कम्पनीको शेयर कारोबारमा आएको दोस्रो दिनदेखिनै सकारात्मक सर्किट लाग्दै आएको थियो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ३१२ दशमलव ५० पुगेसँगै विक्रेता हावी हुँदा शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २७ हजार ३३० कित्ता विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १४ दशमलव ३८ अंक घटेर २ हजार ३४२ दशमलव ८६ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ६५ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।