भारतबाट बिजुली नआउँदा नेपालका केहि स्थानमा लोडसेडिङ सुरु भएको छ । भारतीय बिजुली महंगो भएको भन्दै नेपालले भारतबाट बिजुली खरिद नगरेपछि नेपालमा विद्युत आपूर्ति सन्तुलन बिग्रिएको हो ।नेपालले भारतसँग इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्फत् प्रतिस्पर्धाको आधारमा मूल्य बिड गरेर बिजुली खरिद गर्दै आएको थियो । तर मंगलबार राति भारतको बिजुलीको दर महँगो भएको र नेपालले कबुल गरेको भन्दा बढी मूल्य अरुले नै कबुल गरेको कारण नेपालले बिजुली किन्न नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार यस अघि नेपालले भारु ८/९ रुपैयाँमा बिडिङ गरेर बिजुली किनिरहेको थियो । तर अहिले बिजुलीको औसत मूल्य प्रति युनिट भारु ११ रुपैयाँ २२ पैसासम्म पुगेको र नेपालले बुधबार दिनभरिको लागि बिड गरेको मूल्यमा बिजुली नपाएको उनले बताए। उनका अनुसार इन्डियन इनर्जी एक्सचेन्जमा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनमा ९६ वटा फरक–फरक मूल्यमा प्रतिस्पर्धा गर्नुपर्छ । उच्चतम मूल्य भने भारु २० रुपैयाँ अर्थात् नेपाली ३२ रुपैयाँसम्म पुगेको छ । भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको छ । आलोपालो गरेर विजुली दिईएको प्राधिकरणले जनाएको छ । जसका कारण बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला उद्योगमा बिजुली नियमित छैन । भारतले मुख्यत कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो ।