काठमाडौं । चीनको अनलाइन कम्पनी अलिबाबा ६ ओटा समूहमा विभाजित हुँदैछ । हरेक कम्पनी बाहिरबाट रकम जुटाउन र आईपीओ जारी गर्न सक्षम हुने बताइएको छ । यो कम्पनीको इतिहासको अहिलेसम्मै सबैभन्दा ठूलो हेरफेर हो । हरेक व्यवसायमा छुट्टाछुट्टै प्रमुख कार्यकारी अधिकारी र सञ्चालक समिति हुने छन् ।
बजारमा प्रतिस्पर्धा बढाउन अनि शेयरको मूल्य बढाउन यो कदम चालिएको कम्पनीले एउटा विज्ञप्तिमा भनेको छ । यो खबरसँगै अमेरिकामा नियमित समय पूर्वको समयमा अलिबाबाको शेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको थियो । केही वर्षयता चिनियाँ नियामकहरूले कम्पनीमाथि नियामक कडाई र कारवाही गरेर ठूलो रकम जरिवाना लगाएपछि कम्पनीले यो कदम चालेको हो ।
पछिल्लो समय चीनको आर्थिक वृद्धिदर सुस्त भएको अवस्थामा कम्पनीको विक्री प्रभावित भइरहेको छ भने चीन सरकारको कठोर नियमनको चपेटामा परेर कम्पनीले खर्बौं डलर पूँजीकरण गुमाइसकेको छ । गएको तीन त्रैमासमा अलिबाबालाई वृद्धिदर हासिलमै सकस भइरहेको छ । अहिले भने कम्पनीले पुनःसंरचना गरेर आर्थिक वृद्धिदरलाई पुनःजीवित गर्न खोजिरहेको छ ।
अलिबाबालाई क्लाउड इन्टेलिजेन्स ग्रुप, ताओपाओ टीमल कमर्श ग्रुप, लोकल सर्भिसेज ग्रुप, खाइनिआहो स्मार्ट लजिष्टिक, ग्लोबल डिजिटल कमर्श ग्रुप र डिजिटल मिडिया तथा मनोरञ्जन समूहमा टुक्रा पारिनेछ । हरेक कम्पनीका सीईओ फरक फरक हुनेछन् । ताओपाओ टीमल कमर्श मात्र अलिबाबाको पूर्ण स्वामित्वमा हुनेछ ।
सन् २०२० को अक्टोबरमा उत्कर्षमा पुगेयता अलिबाबाको ६ खर्ब डलर बराबरको बजार पूँजीकरण गुमिसकेको छ । त्यसयता चीन सरकारले प्रविधि क्षेत्रका निजी कम्पनीहरूमाथि निकै कडाइ गरिरहेको छ । यिनीहरूको व्यापार अभ्यासमाथि पनि कडाइ गरेको छ ।
नियामकहरूले अलिबाबाको सहायक फिनटेक कम्पनी एन्ट ग्रुपलाई पनि सन् २०२० को नोभेम्बरमा यसको विशाल आईपीओ रद्द गर्न बाध्य पारेका थिए । सन् २०२१ मा अलिबाबालाई बजारमा प्रतिस्पर्धा मिच्ने कानूनको उल्लंघन गरेको भन्दै २ अर्ब ६० करोड डलर जरिवाना तिराइएको थियो । नियामक कडाइपछि जापान पलायन भएका अलिबाबाका संस्थापक ज्याक मा पनि चीन फर्किएका छन् । एजेन्सी