के हो आईपीओ निष्कासनको बुक बिल्डिङ विधि ?

काठमाडौं । नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले मङ्सिर ६ गतेबाट संस्थागत लगानीकर्ताहरूको लागि आईपीओ विक्री खुला गरेको हो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन प्रक्रिया शुरु गरे पनि कतिपयलाई यसबारे जानकारी नहुन सक्छ ।  के हो बुक बिल्डिङ विधि ? बुक बिल्डिङ विधि योग्य संस्थागत लगानीकर्ताहरूको मागका आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण पद्धति हो ।  वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी सेबोनले बुक विल्डिङ विधि लागू गरेको हो । अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरूपमा बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन हुनेछ । सो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरूबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।  कम्पनीले संस्थागत लगानीकर्ताका लागि बोलकबोलमार्फत आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । सोहीअनुरूप बुधवारबाट सर्वोत्तम सिमेण्टको आईपीओ संस्थागत लगानीकर्ताहरूका लागि बोलकबोल प्रक्रियाबाट विक्री खुला भएको हो ।  सेबोनबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताहरूले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययनपश्चात सुसूचित तवरले मूल्य पेस गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ ।  आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । उक्त विधिमार्फत कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्णरूपमा विक्री हुँदा कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ ।  कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिकरूपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम तीन कार्यदिनभित्र आर्जित ब्याजसहित फिर्ता वा खाता फुकुवा गर्नुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ । संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दाको कट अफ मूल्यलाई आधार बनाएर सर्वसाधारणमा आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । सबै नेपालीहरूमा कम्पनीहरूको प्राविधिक तथा व्यवस्थापकीय विश्लेषण गर्ने क्षमता नभएको आधारमा धितोपत्र बोर्डले उक्त क्षमता भएका योग्य संस्थागत लगानीकर्ताहरूबाट मूल्य तोक्ने व्यवस्था गरेको हो ।  बुक विल्डिङ विधिमार्फत् निष्कासित शेयरमा संस्थागत लगानीकर्ताको रूपमा सूचीकृत कम्पनी, सामूहिक लगानी कोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना, मान्यताप्राप्त अवकाश कोष, मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड रुपैयाँ भएका धितोपत्र लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीहरू रहन पाउने व्यवस्था छ ।  बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरूलाई निष्कासन गरिएको शेयर धितोपत्र बजारमा सूचीकरण भएको मितिले ६ महीनासम्म विक्री वा हस्तान्तरण गर्न पाइँदैन । सर्वसाधारणतर्फको शेयर भने नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको भोलिपल्टैदेखि कारोबारयोग्य हुनेछ ।  अमेरिकाबाट शुरु भएको यो विधि हाल छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनमा समेत अभ्यासमा आइसकेको छ । धितोपत्र बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार यो विधिबाट आईपीओ निष्कासन गर्न कम्पनी लगातार तीन वर्षदेखि मुनाफामा सञ्चालन हुनुपर्दछ । साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्न साधारण सभाबाट स्वीकृति पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ । रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ ।  यो विधिबाट आईपीओको विक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्ताहरूलाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्ने व्यवस्था छ । सर्वोत्तम सिमेन्टले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट आवेदन दिएको थियो । कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न लागिएको हो । यो शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको छ । तोकिएको मूल्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियाबाट योग्य संस्थागत लगानीकर्तामा यी शेयर विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्रीपछि सर्वसाधारणमा ६० प्रतिशत आईपीओ विक्रीका लागि कम्पनीले पुनः आवेदन दिनेछ । योग्य संस्थागत लगानीकर्ताहरूले मंसिर १० गतेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ भने सह निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छ । योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्णरूपमा विक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गर्नुपर्नेछ । 

सम्बन्धित सामग्री

दुई महीनापछि आईपीओ स्वीकृति प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ महीनापछि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति प्रक्रियालाई अघि बढाएको छ । प्राथमिक बजारमा निरन्तर धितोपत्रको सार्वजनिक निष्कासनले दोस्रो बजारमा असर परेको गुनासो आएसँगै गत कात्तिक १ गतेपछि बोर्डले स्वीकृति प्रक्रिया रोकेको थियो । स्वीकृति प्रक्रियामा बोर्डका अध्यक्ष रमेशकुमार हमाल र व्यवस्थापनको लापरबाही भएको गुनासो आउन थालेपछि अध्यक्ष हमालले नै व्यक्तिगत आक्षेप लाग्ने काम नगर्ने भन्दै सञ्चालक समितिबाट निर्णय गराएर मात्र अनुमति दिने प्रस्ताव पेश गरेका थिए ।  बोर्ड सञ्चालक समिति बैठकले बोर्डको अध्यक्षलाई नै अधिकार दिने र व्यवस्थापनको सिफारिशमा स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको एक सञ्चालकले जानकारी दिएका छन् । बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर स्वच्छ र पारदर्शी रुपमा काम भइरहेको नियमन विभागले दाबी गरेको छ ।  सञ्चालक समितिले बाटो खुला गरेपछि यतिबेला बोर्डले प्रक्रिया पूरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिने प्रक्रिया अघि बढाएको छ । बोर्डले स्वीकृति प्रक्रिया रोकेको ठीक २ महीनामा पुस १ गते कुमारी क्यापिटल लिमिटेडलाई १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ विक्री गर्न अनुमति दिएको छ । बन्दमुखी प्रकृतिको कुमारी सबल योजना सञ्चालनका लागि बोर्डले क्यापिटललाई अनुमति दिएको हो ।  त्यसपछि पुस २ गते बोर्डले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । बैंकले १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर रहेको एनआइएमबी डिबेन्चर २०९० निष्कासनका लागि अनुमति दिएको हो । त्यस्तै पुस ३ गते सर्वोत्तम सिमेन्टलाई दोस्रो चरणमा सर्वसाधारणका लागि ३६ लाख कित्ता शेयर बुक बिल्डिङ विधिबाट निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाको दरले शेयर बेच्न सर्वोत्तमलाई बोर्डले अनुमति दिएको हो । बोर्डले सार्वजनिक निष्कासनमा विविधता कायम गरेको देखिन्छ । बोर्डले पुस ११ गते सिंगटी हाइड्रोपावरलाई शतप्रतिशत दरको १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन अनुमति दिएको छ । बोर्डले यसअघि कात्तिक १ गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति दिएको थियो । चालू वर्ष शुरू भएयता बोर्डले सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट र हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न अनुमति दिएको हो । चालू आर्थिक वर्षको हालसम्म ६ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति पाएकोमा प्रिमियम मूल्यमा शेयर विक्री गर्ने कम्पनीको संख्या तीन छ । लामो समयदेखि घटिरहेको शेयरबजारमा प्रिमियम मूल्यमा जारी भएको सोनापुर मिनरल्सको शेयर कारोबारमा आएको दिनदेखि नकारात्मक सर्किटसहित खरीद मूल्यभन्दा तल झरेको थियो ।  पछिल्लो समय प्रिमियम मूल्यमा जारी भएको शेयरको चर्चा संसद्को सार्वजनिक लेखा समितिमा समेत भएको छ । बिहीवार बीमा कम्पनीहरूलाई कानूनविपरीत प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न दिएको उजुरी परेपछि लेखा समितिले सम्बद्ध निकायहरूसँग छलफल गरेको छ । समितिले प्रिमियम मूल्यमा शेयर जारी गर्न दिएको असर दोस्रो बजारमा परेको भन्दै अन्तरराष्ट्रिय अभ्यासको रूपमा रहेको बुक बिल्डिङ विधि अवलम्बन गर्न निर्देशन दिएको छ ।

बुक बिल्डिङ विधि स्वच्छ रूपमा अगाडि बढाइन्छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रिया स्वच्छ रूपमा हुने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आयोजना गरेको 'पुँजी बजारको वर्तमान अवस्था र आगामी  पाँच वर्षको सम्भावना'सम्बन्धी अन्तरर्क्रिया कार्यक्रममा अध्यक्ष हमालले बुक बिल्डिङ अत्यन्तै आवश्यक रहेको र यसलाई सबैले सहयोग गरेर अगाडि...

सर्वोत्तम सिमेन्टको आईपीओ : मूल्य गोप्य बोलपत्रबाट तय हुने

बैशाख १६, काठमाडौं । सर्वोत्तम सिमेन्टले निष्कासन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को मूल्य सीमा निर्धारणको विषय टुंगो लागेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न गोप्य (शिलबन्दी) बोलपत्रमार्फत मूल्य निर्धारण गर्ने भएको हो । यसका लागि बिहीवार धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कम्पनीबीच सम्झौता भएको छ । यस विधिमार्फत आईपीओको मूल्य निर्धारणका लागि बजार सञ्चालकले स्वचालित विद्युतीय बोलकबोल (बिडिङ) प्रणाली निर्माण गर्नुपर्ने हुन्छ । उक्त प्रणाली निर्माण नभएसम्मका लागि कम्पनीले शिलबन्दी बोलकबोलमार्फत पनि विक्रीको आवेदन माग गर्न सक्ने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा छ ।  सोही व्यवस्था कार्यान्वयन गर्दै सर्वोत्तमको आईपीओ जारी गर्ने सम्झौता भएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । तत्काल नेप्सेले स्वचालित विद्युतीय बोलकबोल प्रणाली निर्माण गर्न नसक्ने अवस्थामा विकल्पका रूपमा रहेको गोप्य शिलबन्दी बोलपत्र विधि प्रयोग गरी बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न सकिने पराजुलीले बताए । निर्देशिकामा स्वचालित विद्युतीय प्रणाली निर्माण गर्नुपर्ने व्यवस्था भए पनि हालको अवस्थामा गोप्य शिलबन्दी बोलपत्रमार्फत नै आईपीओ जारी गर्दा प्रभावकारी हुने उनको भनाइ छ । मूल्य सीमा निर्धारणको विषय टुंगो लागेसँगै अब ढिला नगरी प्रक्रिया अघि बढाउने विक्री प्रबन्धकको मुख्य जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले १ वर्षभन्दा बढी समयदेखि अल्झिएको विषयलाई अब ढिला नगरी अघि बढाउनु आवश्यक रहेको बताए । नयाँ तथा प्रभावकारी मानिएको यो विधि अघि बढाउन अग्रसर रहेको सर्वोत्तमको यात्रालाई सफल बनाउन विक्री प्रबन्धकले प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ । यसै आर्थिक वर्षभित्र कम्पनीको आईपीओ निष्कासन प्रक्रिया पूरा गर्ने गरी काम अघि बढाउने ढकालको भनाइ छ । के हो अबको प्रक्रिया बजार सञ्चालकसँग सम्झौतापछि विक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्नेछ । उक्त विवरणपत्रको मुखपृष्ठमा ‘बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई गरिने धितोपत्र निष्कासनसम्बन्धी विवरणपत्र’ उल्लेख गर्नुपर्नेछ । उक्त प्रारम्भिक विवरणपत्रउपर योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई छलफल सञ्चालन गर्नुपर्ने हुन्छ । छलफल सञ्चालनका लागि तय गरिएको समय र स्थानबारे योग्य संस्थागत लगानीकर्तालाई लिखित रूपमा वा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरी जानकारी गराउनुपर्छ । योग्य संस्थागत लगानीकर्ताले छलफल कार्यक्रम सकिएको ५ कार्यदिनभित्र लिखित रूपमा किन्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरीद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन सक्नेछ । कम्पनीले खरीद आशय मूल्य लिँदा योग्य संस्थागत लगानीकर्ताका लागि छुट्ट्याइएको सम्पूर्ण धितोपत्र विक्री हुने गरी कम्तीमा १० योग्य संस्थागत लगानीकर्ताबाट आशयपत्र प्राप्त गनुपर्नेछ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्नेछ । आधार मूल्य तय भएपछि धितोपत्रको विक्री मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । धितोपत्रको विक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ । विवरणपत्र प्रकाशन गर्न बोर्डबाट स्वीकृति प्राप्त भएको बढीमा १० कार्यदिनभित्र विक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमा सहभागी हुन आ⋲वानपत्र प्रकाशन गर्नुपर्ने हुन्छ । धितोपत्र बजारले संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्णरूपमा विक्री हुने गरी कटअफ मूल्य निर्धारण गर्नुपर्नेछ । कटअफ मूल्य निर्धारण गरेपछि उक्त मूल्य वा त्यसभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई मागबमोजिम कटअफ मूल्यमै धितोपत्र बाँडफाँट गर्नुपर्नेछ । सर्वसाधारणलाई धितोपत्र जारी गर्दा कटअफ मूल्यमा १० प्रतिशत छूट दिई निष्कासन गर्नुपर्नेछ । यो विधिमार्फत निष्कासनमा आउने शेयर किन्न सर्वसाधारणले आवेदन दिने न्यूनतम कित्ता ५० छ भने बाँडफाँट गर्दा पनि प्रतिआवेदक न्यूनतम ५० कित्ता पाउने गरी गर्नुपर्नेछ । कम्पनीले निष्कासन गर्ने कित्ता कति ? सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्नेछ । कम्पनीले कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख, उद्योग प्रभावित स्थानीयका लागि ८ लाख र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो । हाल ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओपछि यो पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । आईपीओको अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुने व्यवस्था छ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता ७५० रुपैयाँभन्दा बढी मूल्य कायम हुने विश्वास लिएको छ । संस्थागत लगानीकर्ताले ७५० रुपैयाँ मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम अर्थात् ६७५ रुपैयाँमै शेयर किन्न पाउनेछन् । नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई पूँजीबजारमा भिœयाउने उद्देश्यसाथ २०७७ साउन २८ गतेदेखि बुक बिल्डिङ विधि लागू गरेको हो । वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयर किन्न बोर्डबाट ९५ संस्थागत लगानीकर्ताले स्वीकृति पाएका छन् ।

बुक बिल्डिङमा अलमल

चैत ३, काठमाडौं । वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा भित्र्याउन नेपालमा पहिलोपटक शुरू गरिएको बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा अलमल भइरहेको छ । बुक बिल्डिङ कार्यान्वयन हुन नसक्नुमा कम्पनीहरू र नियामक निकायको आआफ्नै तर्क छन् । बुक बिल्डिङमार्फत कम्पनीले शेयर जारी गरेको भए एकातिर सर्वसाधारणले नाफामा गएका त्यस्ता कम्पनीको शेयर किन्न पाउँथे भने अर्कोतर्फ ती कम्पनीप्रति सर्वसाधारणको अपनत्व बढ्थ्यो । यसले धितोपत्र दोस्रो बजार पनि विविधीकरण हुन्थ्यो । संसारका थुप्रै मुलुकमा यस्तो विधि प्रयोगमा ल्याइएपछि धितोपत्र बजार थप परिपक्व भएको उदाहरण छन् । पहिलोपटक सर्वोत्तम सिमेन्टले गतवर्ष नै बुक बिल्डिङमार्फत शेयर जारी गर्ने घोषणा गरे पनि अझै जारी हुन सकेको छैन ।  सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपाने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग सम्झौता हुन नसक्दा आफूहरू अन्योलमा परेको बताउँछन् । ‘नेपालका लागि नयाँ रहेको यो विधिमार्फत संस्थागत लगानीकर्ताले शेयरका लागि बोलकबोल गर्न स्वचालित विद्युतीय ९बिडिङ० प्रणाली आवश्यक हुने र यसका लागि नेप्सेले प्रणाली निर्माण नगरेकाले प्रक्रिया अघि बढ्न सकेको छैन,’ उनले भने ।  उनले कम्पनीका तर्फबाट भने आईपीओ निष्कासनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । ‘त्यसैले बिडिङ प्रणालीको टुंगो लागे प्रक्रिया अघि बढ्छ,’ उनले भने । बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्दा मूल्यसीमा निर्धारणका लागि संगठित संस्थाले बिडिङ प्रणालीमार्फत बोलकबोल गर्नेगरी धितोपत्र बजारसँग सम्झौता गर्नुपर्ने हुन्छ ।  यता नेप्सेले भने कम्पनीले बिडिङ प्रणालीको विकल्पमा अन्य व्यवस्थाबाट पनि मूल्यसीमा निर्धारणको प्रक्रिया सम्पन्न गर्न सक्ने बताएको छ । नेप्सका सूचना अधिकारी मुराहरि पराजुली बिडिङ प्रणाली सञ्चालनमा नआएसम्म संगठित संस्थाले शिलबन्दी बोलकबोलमार्फत पनि विक्रीको आवेदन माग गर्न सक्ने विकल्प रहेको दाबी गर्छन् । बिडिङ प्रणाली सञ्चालन नगरेका कारण सर्वोत्तमको आईपीओ निष्कासन रोकिने अवस्था नआउने उनको भनाइ छ । बुक बिल्डिङका लागि नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्तासमेत नियुक्त गरिसकेको थियो । गतवर्षको चैतमै सर्वोत्तमले विक्री प्रबन्धक नियुक्त गरिसकेको थियो ।  धितोपत्र बोर्डले निर्देशिकाले गरेको स्पष्ट व्यवस्थालाई कार्यान्वयन गर्दै प्रक्रिया अघि बढाउँदा सर्वोत्तमलाई बिडिङ प्रणालीले नरोक्ने बताएको छ । बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता नीरज गिरीले पनि बोर्डले बिडिङ प्रणाली उपलब्ध नभएको खण्डमा शिलबन्दी बोलकबोल विधि लागू गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारे ।  अन्य कम्पनी पनि अहिले यो विधिसँग जोडिन चाहेको अवस्थामा सर्वोत्तम सिमेन्टले आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।  बुक बिल्डिङ विधिलाई प्रभावकारी बनाउनुपर्ने माग लगानीकर्ता छोटेलाल रौनियारकोे छ । बुक बिल्डिङ विधि अघि सारेको सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्कासनका लागि सहज वातावरण उपलब्ध गराउन उनले सरोकारवाला निकायसँग मागसमेत गरेका छन् । सर्वोत्तम सिमेन्टको आईपीओलाई बुक बिल्डिङ विधिको एउटा सफल उदाहरण बनाई अन्य कम्पनीलाई पनि यस विधिमार्फत जोड्न प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्ने गरी गतवर्ष चैत ४ गते नै विक्री प्रबन्धक नियुक्त गरेको थियो । कम्पनीले आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल र सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको थियो ।  कम्पनीले कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानीयका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ ।  हाल रू. ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओपश्चात् यो पूँजी रू. ४ अर्ब पुग्नेछ । व्यावसायिक उत्पादन शुरू गरेपछि नै नाफा कमाउँदै आएकाले विगत ३ वर्षको औसत मुनाफा वार्षिक रू.१ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ । आईपीओ विक्रीबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी बाँकी रकमले उद्योगको उत्पादन क्षमता दोब्बर गर्ने योजना बनाएको कम्पनीले आईपीओपश्चात् ३५ प्रतिशत लाभांश वितरण गर्ने योजना विक्री प्रबन्धक नियुक्तिकै दिन सार्वजनिक गरेको थियो । कम्पनीको उत्पादन क्षमता दोब्बर योजनाले ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण कम्पनीको छ । आईपीओको अंकित मूल्य रू. १०० भए पनि बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुने व्यवस्था छ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुने विश्वास लिएको छ । संस्थागत लगानीकर्ताले रू.७५० मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम रू.६७५ मै शेयर किन्न पाउने भएकाले सर्वसाधारण लगानीकर्तालाई सहुलियत हुने जानकारहरू बताउँछन् ।  धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा भित्र्याउने उद्देश्यका साथ २०७७ साल साउन २८ गतेदेखि बुक बिल्डिङ विधि लागू गरेको हो । वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयर किन्न बोर्डबाट ८० भन्दा बढी संस्थागत लगानीकर्ताले स्वीकृति प्राप्त गरिसकेका छन् । आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने

पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जा

बुक बिल्डिङपछिका अपेक्षा

सार्वजनिक सेयर निष्कासनमा बुक बिल्डिङ प्रणाली लागू गर्ने व्यवस्था बल्ल सुरु भएको छ । धितोपत्र बोर्डको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै केही वर्षदेखिको प्रयासले सार्थकता पाएको छ । अब कम्पनीहरूको आईपीओमा बुक बिल्डिङ विधि लागू गर्न पाउने भए पनि सबै कम्पनीका लागि आईपीओ जारीमा यो विधि अनिवार्य भने होइन । सामान्यतया योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा प्राथमिक बजारमा निस्कासन गरिने धितोपत्रको वास्तविक एवम् न्यायोचित मूल्य निर्धारण विधिलाई नै बुक विल्डिङ विधि भनिन्छ ।