बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्न ९ ओटा संस्थागत लगानीकर्ता थपिए

वैशाख ६, काठमाडौं । बुक विल्डिङ बिधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्नका लागि फेरी नौ  ओटा संस्थागत लगानीकर्ता थप भएका छन् । यसअघि ७४ ओटा योग्य संस्थागत लगानीकर्ताहरुलाई अनुमति दिएको नेपाल धितोपत्र बोर्डले वैशाख ३ गते थप  नौ ओटा संस्थालाई अनुमति प्रदान गरेको हो । थपिएका संस्थागत लगानीकर्ताहरुमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, जय गणेश इन्भेष्टमेण्ट कम्पनी , आइसिएफसी फाइनान्स, जे–नेक्स इन्भेष्टमेण्ट, मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र नेपाल बैंक रहेका छन् । थपिएका संस्थागत लगानीसहित हालसम्म ८३ ओटा संस्थागत लगानीकर्ता बुक विल्डिङ् विधिमार्फत निष्कासन हुने शेयरमा बोलकबोल गर्न योग्य भएका हुन् । धितोपत्र बोर्डले हालसम्म चार चरणमा ८३ ओटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो । पहिलो चरणमा ४६ ओटा कम्पनीलाई, दोस्रो चरणमा १८ कम्पनीलाई, तेस्रो चरणमा १० ओटा कम्पनीलाई र चौथो चरणमा नौ ओटा कम्पनीहरुलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति दिएको हो । ती संस्थागत लगानीकर्ताहरुले बुक विल्डिङ मार्फत सार्वजनिक निष्कासनमा आउने शेयरको आशय मूल्य तोक्न सहयोग गर्नेछन् । अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरुपमा बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन हुनेछ । यो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ । आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययन पश्चात सुसूचित तवरले मूल्य पेश गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ ।  मूल्य सीमा निर्धारण पश्चात संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत र सर्वसाधारणका लागि ६० प्रतिशत शेयर निष्कासन हुनेछ । संस्थागत लगानीकर्ताहरुले भने सूचीकृत भएको मितिले ६ महीनासम्म शेयर कारोबार गर्न सक्नेछैनन् । वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा भित्र्याउने उदेश्यका साथ बोर्डले गत साउन २८ गतेदेखि बुक विल्डिङ विधि लागू गरेको हो । वास्तविक क्षेत्रका कम्पनीहरुको आईपीओको मूल्य बजारलेनै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो । यस विधिबाट सर्वोत्तम सिमेण्ट्सले सबैभन्दा पहिला आईपीओ विक्रीमा ल्याउने भएको छ । एक महीना अघिनै विक्री प्रबन्धक नियुक्त गरेको सर्वोत्तम सिमेण्ट्सले हालसम्म बोर्डमा निवेदन भने दिएको छैन । वैशाख ३ गते स्वीकृति पाएका थप नौ ओटा कम्पनीहरु :                                                              स्रोतः नेपाल धितोपत्र बोर्ड (सेवोन)  

सम्बन्धित सामग्री