विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ निस्कासन गर्ने

काठमाडौं, १ असोज । विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ बिक्रि गर्ने भएको छ । कम्पनीले १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो । आइपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण […]

सम्बन्धित सामग्री

बढ्दो गतिमा आईपीओ

काठमाडौं। नेपालको धितोपत्र बजारको विस्तारमा सूचीकृत कम्पनीको महत्त्वपूर्ण भूमिका रहन्छ । कम्पनीको कार्यसम्पादन र सकारात्मक गतिविधिका कारण बजार सकारात्मक बन्ने हुन्छ ।  धितोपत्र बजारमा धेरै समूहअन्तर्गतका कम्पनीहरू सूचीकृत हुन्छन् । ती कम्पनीहरूको मूल्यमा परेको प्रभावका आधारमा समूहगत परिसूचकमा उतारचढाव हुन्छ, जसको समग्र प्रभाव धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा पर्छ । यी कुरा उल्लेख गरिरहँदा पछिल्ला वर्ष धितोपत्र बजारमा कति र कस्ता कम्पनी थपिए ? बजारमा तिनको प्रभाव कस्तो पर्‍यो भन्ने विषय महत्त्वपूर्ण होला । यतिखेर धितोपत्रको दोस्रो बजारमा म्युचुअल फन्डका योजनाबाहेक २४१ कम्पनी सूचीकृत छन् ।  यी कम्पनीलाई १२ समूहमा विभाजन गरी सूचीकृत गरिएको छ । नेप्सेका अनुसार हाल १९ वाणिज्य बैंक, ८ उत्पादन तथा प्रशोधन, ६ होटेल तथा पर्यटन, ३ अन्य, ८७ जलविद्युत्, २ व्यापारिक, १२ निर्जीवन, १६ विकास बैंक, १५ वित्त, ५५ लघुवित्त, ११ जीवन बीमा र ७ कम्पनी लगानी समूहअन्तर्गतका छन् । कात्तिक १५ गतेसम्म धितोपत्रको दोस्रो बजारको कुल पूँजीकरण २८ खर्ब ६२ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यस दिन धितोपत्र दोस्रो बजार १८५८ दशमलव ५६ विन्दुमा छ । दोस्रो बजारमा सूचीकृत कम्पनी संख्या बढ्दै गए पनि पछिल्लो वर्ष बजारले गति लिन सकेन ।  प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृतिको अवस्था हेर्दा गत आर्थिक वर्ष (आव) २०७९/८० मा हालसम्मकै धेरै कम्पनीले पाएको देखिन्छ । धितोपत्र बजारमा शेयरको आपूर्ति बढे पनि मागको अवस्था अघिल्ला वर्षभन्दा गतवर्ष घटेको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ । सर्वाधिक आईपीओ अनुमति  गत आव २०७९/८० मा नेपाल धितोपत्र बोर्डले ४२ कम्पनीलाई आईपीओ अनुमति दिएको छ । एक वर्षमा ४२ कम्पनीले आईपीओ अनुमति पाएको पहिलोपटक हो । ती कम्पनीलाई २२ अर्ब ३७ करोड ८६ लाख १२ हजार रुपैयाँ बराबरको १३ करोड ५२ लाख ३९ हजार ९९४ कित्ता शेयर निष्कासन गर्न बोर्डले गतवर्ष अनुमति दिएको हो ।  गतवर्ष ७ कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न अनुमति पाएका छन् । ती कम्पनीमा घोराही सिमेन्ट, आइएमई लाइफ, भगवती हाइड्रोपावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर र सिटिजन लाइफ इन्स्योरेन्ट छन् ।  बोर्डबाट गत आवको अन्त्यसम्म अनुमति पाएकामध्ये केही कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अझै बाँकी छ । गत आवमा बोर्डले २९ जलविद्युत्, चार बीमा, दुई अन्य, चार लघुवित्त, एक उत्पादन तथा प्रशोधन, एक होटेल र एक लगानी समूहका कम्पनीलाई आईपीओ अनुमति दिएको हो । अघिल्लो आव २०७८/७९ को तुलनामा २०७९/८० मा आईपीओ संख्या १४ ले बढी हो । आव २०७८/७९ मा बोर्डले २८ कम्पनीलाई ७ अर्ब २० करोड ३६ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ७ करोड २० लाख ३६ हजार ४२५ कित्ता आईपीओ अनुमति दिएको थियो । अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा ६ करोड ३२ लाख ३ हजार ५६९ कित्ताले बढी आईपीओ अनुमति दिएको छ ।  अघिल्लो वर्ष सबै कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर विक्री गरेका थिए ।  अघिल्लो वर्ष आईपीओ अनुमति पाउने २८ मा १९ जलविद्युत्, आठ लघुवित्त र एक लगानी समूहअन्तर्गतका कम्पनी थिए ।  आईपीओ अनुमति पाउनेमा जलविद्युत् कम्पनी बढी  अघिल्ला दुई आवको तथ्यांक हेर्दा आईपीओ स्वीकृति पाउनेमा जलविद्युत् कम्पनीको संख्या बढी छ । गत आवको कुल संख्यामा जलविद्युत् कम्पनीको अंश ६९ प्रतिशत छ । अनुमति पाएका २९ जलविद्युत् कम्पनीमध्ये मान्डु हाइड्रोपावरले प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर बेचेको छ । अघिल्लो आवमा आईपीओ अनुमति पाउने २८ मा १९ जलविद्युत् कम्पनी थिए । आईपीओको अग्रस्थानमा रहेको जलविद्युत् कम्पनीको संख्या दोस्रो बजारमा समेत सबैभन्दा बढी छ । आईपीओलाई प्राथमिकता बढ्दो प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कम्पनी संख्या बढ्दै गएको अवस्थामा आगामी दिनमा अझ बढाएर लैजाने व्यवस्था बोर्डले गरेको छ । बोर्डले धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनी भित्त्याउने उद्देश्यले धितोपत्र दर्ता तथा निष्कासन नियमावली सातौंपटक संशोधन गरेको छ । सरकारले बोर्डले संशोधन गरेको उक्त नियमावली स्वीकृत गरिसकेकोले आगामी दिनमा बोर्डको उद्देश्य अनुपरूप कम्पनी भित्रिने अपेक्षा गरिएको छ । पब्लिक कम्पनीमा परिणत भएको एक वर्षभित्र आईपीओ जारी गर्न पाउने व्यवस्था संशोधित नियमावलीमा गरिएकाले आगामी दिनमा शेयर निष्कासन गर्ने कम्पनीको संख्या बढ्ने अनुमान गरिएको छ । एनआरएनको लगानी भित्र्याउन पहल  नेपालको धितोपत्र बजारमा पछिल्ला वर्षमा आपूर्तिको तुलनामा माग कम देखिएको छ । यसको प्रत्यक्ष असर बजारमा परेको । नयाँनयाँ धितोपत्र औजार भित्त्याएर आम लगानीकर्ताको मनोबल बढाउने प्रयासमा जुटेको बोर्ड गैरआवासीय नेपाली (एनआरएन) को लगानीसमेत भित्त्याएर बजारको विकास र विस्तार गर्ने तयारीमा जुटेको छ । धितोपत्र औजारमा विविधता ल्याउने धेरै वर्षदेखिको योजना बोर्डले फेरि अघि बढाएको छ । गैरआवासीय नेपालीको लगानी भित्त्याउने दशकअघिको नीति हरेक वर्ष प्राथमिकतामा राख्दै आएको बोर्डले यस वर्षको नीति तथा कार्यक्रममा समेत स्थान दिएको छ । एनआरएनलाई पूँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानून तथा संस्थागत पूर्वाधार तयार गर्ने बोर्डको योजना छ । यसका लागि बोर्डले गैरआवासीय नेपाली लगानी गर्न उत्साहित हुने खालको नीति निर्माणमा जोड दिनुपर्ने आवश्यकता जानकारहरूले औंल्याएका छन् ।  बोर्डले सार्वजनिक निष्कासनअघि धितोपत्रको दोस्रो बजारको विकासलाई बढी प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने माग लगानीकर्ताको छ । बढेको बजारमा मात्र आईपीओले राम्रो मूल्य पाउने भएकाले आईपीओप्रति आकर्षण बढ्न धितोपत्रको दोस्रो बजार बढ्नुपर्ने धारणा लगानीकर्ताको छ । पछिल्लो समय धितोपत्रको दोस्रो बजार घटेसँगै आईपीओ खरीदमा समेत लगानीकर्ताको माग कम हुँदै गएको देखिन्छ । यस आधारमा पनि नियामक निकाय बोर्डलाई धितोपत्रको प्राथमिक र दोस्रो बजारको विकास र विस्तारमा चुनौती थपिएको छ ।

ईङवा हाइड्रोपावरले आइतवार देखि आईपीओ निष्कासन गर्ने, क कसले आवेदन दिन पाउँछ ?

काठमाडौं। ईङवा हाइड्रोपावर लिमिटेडले आइतवार अर्थात फागुन २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थाननीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि  र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिने शेयरमा ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउँपालिका–३, पाँचथर जिल्लाको याङवरक गाउँपालिकाका वडा नं. २ र वडा नं. ३ का बासिन्दाले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आगामी चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले  सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २० गते सम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिउको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी वैदेशिक रोजगारीमा रहेको नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले प्रवद्र्धन गरिरहेको ९ दशमलव ७ मेगावाटको ईङवा खोला साना जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ भने आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

वैशाख २५ गतेदेखि हिमालयन हाइड्रोपावरले स्थानीयको लागि आईपीओ निष्कासन गर्दै

वैशाख १६, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८ दशमलव २२ प्रतिशत शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कान गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ ८ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ । आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

न्यादी हाइड्रोको आईपिओ शुक्रबार बाँडफाँड हुने, २ लाख २ हजार जनाले शेयर पाउने

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड गर्न लागेको हो । कम्पनीले निष्काशन गरेको आईपिओमा १४ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकबाट २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १४.०८ गुणा बढी हो । कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो आवेदन भेरिफाई नहुँदैको तथ्यांक भएकोले यो संख्या केहि तलमाथि हुन् सक्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ । यो पनि : न्यादी हाइड्रो आईपिओ रिभ्यु : अधिकांश लगानी बुटवल पावरको, यो वर्ष बिजुली, अर्को वर्ष लाभांश

१४ अर्ब ३४ करोड बराबरको आईपीओ विक्रीका लागि अनुमति

असार १९, काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको हालसम्म कुल १८ ओटा कम्पनीलाई साधारण शेयर (आईपीओ) विक्री गर्न अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले  ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर विक्री गर्न  अनुमति पाएको हो ।            बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कुल १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० रुपैयाँ बराबरको साधारण शेयर विक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ । बोर्डका अनुसार २०७७ असारमा कुल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको संख्या शतप्रतिशतले वृद्धि भएर ३५ लाख नाघेको अवस्था छ ।            यस्तै ७ लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको संख्यासमेत एक वर्षको अवधिमा साढे तीन गुणा बढीले वृद्धि भएर २६ लाख पुगेको छ । यस्तै प्राथमिक सार्वजनिक निष्काशनमा मुस्किलले ५ लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन् ।            पछिल्लोपटक सार्वजनिक निष्काशन गरेको जीवन विकास लघुवित्तको साधारण शेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो । जीवन विकास लघुवित्तको विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ ।            धितोपत्र बजार अनलाइन कारोवारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकामा हालसम्म त्यो संख्या बढेर ६ लाख ६० हजार बढी पुगेको छ । दैनिक ६ लाख बढीले कारोबारमा सक्रियता देखाएका छन् । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।            बोर्डका अनुसार चालू आवको १० महीनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब रुपैयाँ बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो । प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको सानो बचत संकलन गरी दीर्घकालीन पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्‍याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ ।            बोर्डका अनुसार चालू आवको शुरुआतीमा नै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर विक्री गर्‍यो । यस्तै समाज लघुवित्तले  ८६ लाख बराबरको ८ लाख ६० हजार कित्ता साधारण शेयर विक्री गरेको थियो । बोर्डबाट अनुमति पाउनेमा पाँच ओटा जलविद्युत् कम्पनी छन् । त्यसमा सिङ्गटी हाइड्रोपावरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर विक्री गरेको थियो । उक्त परिमाणको शेयर आयोजना प्रभावित स्थानीयवासी र आम सर्वसाधारणलाई विक्री गरिएको थियो ।            ग्रिन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर विक्री ग¥यो । बोर्डले अनुमति दिएको जलविद्युत् कम्पनीमध्ये प्रिमियमसमेत जोडेर साधारण शेयर विक्री गर्नेमा रु रु जलविद्युत् परियोजना हो । सो कम्पनीले  ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४११ कित्ता साधारण शेयर विक्री गर्‍यो ।            सीईडीबी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर विक्री गरिसकेको छ । यस्तै तेह्रथुम पावर साधारण शेयर बिक्रीका लागि अनुमति पाइसकेको छ । सो कम्पनीले १२ लाख कित्ता साधारण शेयर विक्री गर्दैछ । साधारण शेयर विक्री गर्ने कम्पनीमध्ये नेपाल पूर्वाधार बैंक ठूलो हो । सो कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर चालू आवमा विक्री गरेको छ । यस्तै जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोशीले साधारण शेयर विक्रीको अनुमति पाएको छ । सो कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर विक्री गर्दैछ ।            बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजस्वमा समेत पूँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ । गत वर्षसम्म पूँजीगत लाभकरवापत सरकारलाई वर्षमा मुस्किलले १ अर्ब रुपैयाँ बराबरको योगदान पुर्‍याउने गरेकामा हाल महीनामै सो भन्दा बढी रकम संकलन हुन थालेको छ । लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ । रासस