ठूलो खोला हाइड्रोपावरको लगानी जुट्यो : सिटिजन्स, कृषि विकास र माछापुच्छ्रे बैंकको लगानी

काठमाडौं। २२ दशमलव ५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा कृषि विकास बैंक र माछापुच्छ्रे बैंक समेतले आयोजनामा लगानी गर्ने भएका हुन् ।  सोमवार भएको आयोजनाको लगानीसम्बन्धी सम्झौतापत्रमा देव ग्रूपका अध्यक्ष तथा कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्रवल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम, पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोशन मल्लले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुमितबाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकका हरि अधिकारी, विश्वबन्धु भट्टराई, माछापुच्छ्रे बैंकका अनिल सिवाकोटी उपस्थित थिए ।  त्यस्तै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ अफिसर नवीन सिलवाल, वित्तीय प्रमुख प्रदीप खतिवडा र सिभिल इन्जिनीयर प्रमुख शिवसागर यादवको उपस्थिति थियो । आयोजनाको लागत ३ अर्ब ९४ करोड रुपैयाँ अनुमान गरिएको छ, जसको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी हुने सम्झौतामा उल्लेख छ । आयोजनाको लागत ३ अर्ब ९४ करोड रुपैयाँको अनुमान गरिएको छ, जसको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी हुने बताइएको छ । आयोजना म्याग्दीको रघुगंगा गाउँपालिका–७ र ८ को ठूलो खोलामा निर्माणाधीन छ । आयोजना ३४ प्रतिशत निर्माण सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष पन्तले बताए । २०८२ असोजमा निर्माण सम्पन्न गर्ने मिति तोकिए पनि त्योभन्दा पहिल्यै आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको पन्तको भनाइ छ । आयोजनामा देव ग्रूपकै स्वामित्व रहेको अर्काे आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको बताइएको छ । टक्सार पिखुवा हाइड्रोपावरले २ वर्षअघि नै सम्पन्न भई विद्युत् उत्पादन गरिरहेको छ । यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको बताइएको छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले पनि आईपीओ जारी गर्न सिटिजन्स क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।