काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले मंगलवार (भोलि)देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी रू. ८० करोडको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि विक्री गर्न लागेको हो । स्थानीयको शेयर खरीदका लागि दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
त्यस्तै दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई विक्री गरिने शेयरमध्ये १० प्रतिशत दरको २ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । यो आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ५० हजार कित्तासम्म माग गर्न पाउनेछन् ।
यो आईपीओ आयोजना प्रभावित स्थानीयमा छिटोमा साउन २ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन १७ गतेसम्म विक्री खुला हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन २ गतेभित्र आवेदन दिनुपर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै स्थानीय बासिन्दाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालय तथा गौरीशंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
स्थानीयले आईपीओ खरीद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारामबाट रू. २०० शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७७ कात्तिक २२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कूल अनुमानित लागत रू. १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार छ ।