काठमाडौं। ईङवा हाइड्रोपावर लिमिटेडले आइतवार अर्थात फागुन २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थाननीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिने शेयरमा ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउँपालिका–३, पाँचथर जिल्लाको याङवरक गाउँपालिकाका वडा नं. २ र वडा नं. ३ का बासिन्दाले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आगामी चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २० गते सम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिउको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी वैदेशिक रोजगारीमा रहेको नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले प्रवद्र्धन गरिरहेको ९ दशमलव ७ मेगावाटको ईङवा खोला साना जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ भने आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।