एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदेपछिका सबै सम्झौता च्यात्ने उद्घोष गरेको भोलिपल्ट आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करीब १३ अंकले घट्यो । एनेकपा माओवादी र नेप्सेबीच परस्पर विरोधी सम्बन्धलाई पुन: त्यसले प्रतिविम्बित गरेको छ । यद्यपि, सोमवार उल्लेखनीय रूपमा बढेको नेप्सेले लगानीकर्तामा रहेको मनोवैज्ञानिक त्रासलाई केही हदसम्म कम गरेको बुझ्न सकिन्छ । तर, मुलुकको अन्त्यहीन राजनीतिले अर्थतन्त्रलाई जुन गतिहीनता वा पश्चगमनको अवस्था ल्याएको छ, त्यसको प्रभाव नेप्सेमा नपर्ने कुरै छैन ।
यति हुँदाहुँदै पनि मुलुकको अस्थिर राजनीति र गतिहीन अर्थतन्त्रलाई मात्र हेरेर शेयर लगानीकर्ताहरू डराउनुपर्ने अवस्था छैन । विगत केही समयदेखि नेप्सेमा जुन दिगो किसिमको वृद्धिको संकेत देखिएको छ, जुन रूपमा अहिले शेयरबजारमा लगानीकर्ताहरूको वृद्धि भएको देखिएको छ त्यसले नेप्से अझै बढ्ने आशा गर्न सकिन्छ । त्यसैले शेयरमा लगानी गर्न वा नयाँ लगानीकर्ताहरू बजारमा प्रवेश गर्नका लागि यो उत्तम समय हो ।
शेयरबजार बढ्न वा घट्नमा मुलुकको राजनीतिक वातावरण, अर्थतन्त्रको अवस्थाका साथै मनोवैज्ञानिक र प्राविधिक कारणहरूको पनि हात रहेको हुन्छ । कुनै पनि शेयर परिसूचकको दिशा कस्तो हुन्छ भन्नेमा त्यस बजारमा कस्ता लगानीकर्ताहरू छन्, त्यसले पनि प्रभाव पार्छ ।
(सम्पादकीयबाट)
वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९