वैशाख १५, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सको मुनाफामा उच्च वृद्धि भएको छ ।
बिहीवार कम्पनीले बताएअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा कम्पनीको मुनाफा ५० प्रतिशतभन्दा धेरैले बढेको छ । जनवरी–मार्च त्रैमासमा कम्पनीले ७७८ खर्ब वन (६१ ऋर्ब ३० करोड डलर) आम्दानी गरेको छ ।
सो अवधिमा सञ्चालन मुनाफा १४१ खर्ब वन (११ अर्ब १० करोड डलर) भएको बताइएको छ । यो कम्पनीले यो महीनाको शुरुमा गरेको प्रक्षेपणकै हाराहारी हो । मेमोरी चिपको सुदृढ विक्रीका कारण कम्पनीको विक्री बढेको हो ।
समीक्षा अवधिमा कम्पनीले २०१ खर्ब वन (१५ अर्ब ८० करोड डलर) मूल्य बराबरको चिप बेचेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ४० प्रतिशत धेरै हो । नयाँ लाइनअपको स्मार्टफोनको सुदृढ विक्रीबाट पनि कम्पनीलाई लाभ मिलेको छ । कम्पनीले फेब्रुअरीमा एउटा कार्यक्रममा ग्यालेक्सी एस २२ अल्ट्रा लञ्च गरेको थियो ।
यद्यपि, विश्व बजारमा लामो समयदेखि देखिएको आपूर्ति चक्रमा समस्या बाधाको रुपमा यथावत् रहने कम्पनीले बताएको छ । यस वर्ष कम्पनीले जगेडा चिप र इमेज सेन्सरको सञ्चिति बढाउने कामलाई निरन्तरता दिने भएको छ ।
लामो समयदेखि चलिरहेको भू- राजनीतिक द्वन्द्व र केही क्षेत्रमा लकडाउनका कारण स्मार्टफोन प्रति उपभोक्ता मनोबल कमजोर हुन सक्ने कम्पनीको अनुमान छ । रुस युक्रेन बीचको युद्ध, चीनमा कोभिड नियन्त्रण गर्न गरिएको लकडाउन र महँगीको जोखिम विक्रेताहरुले सामना गरिरहेको मुख्य अनिश्चय भएको बताइएको छ । एजेन्सी