पुस ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार बुटवल पावर कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडकोे मूल्य समायोजन गरेको छ । नेप्सेले बुटवल पावर कम्पनीको बोनस शेयर तथा समृद्धि फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन गरेको हो ।
बुटवल पावर कम्पनीले लाभांश तथा समृद्धि फाइनान्सले हकप्रद शेयर प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४३८ दशमलव ७३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
बुटवल पावर कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने कम्पनीले निर्णय गरेको हो ।
सभा प्रयोजनका लागि आइतवार अर्थात् पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।
त्यस्तै, नेप्सेले समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयरको समायोजनपश्चात मूल्य रू. ३६१ दशमलव ३३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४९२ मा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले २:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते नेपा धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।