असोज ६, काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले भदौ १ गतेदेखि १५ सम्म आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको शेयर बुधवार बाँडफाँट गरेको हो ।
उक्त आईपीओमा ३ हजार ८५७ जना योग्य आवेदकबाट आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन गर्ने योग्य सबै आवेदकले शेयर पाएका छन् । सबै आवेदकले न्यूनतम १० कित्ता देखि १४० कित्तासम्म शेयर पाएका हुन् ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो ।
कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानीय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गरेको थियो ।
बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि विक्री गरेको हो ।