मासाहार र साकाहारवाद परम्परादेखि चल्दै आएको विचार र चिन्तन हो । जहिलेदेखि मानिस पृथ्वीमा छन्, त्यही बेलादेखि नै समाजमा यो चिन्तन र आहार विषयक ध्रुवीकरण विद्यमान छ । अहिले मानिसमा करिब सात दशकदेखि नयाँ सोच र विचारले घर गरेको छ । संसारमा माछामासु मात्रै होइन, पशुपन्छीलाई मारेर या नमारेर प्राप्त हुने दूध, दही, मह, चिज, घिउ, नौनीलगायतका वस्तु मानिसले जहिलेसम्म खाइरहन्छ, तबसम्म पशुपन्छीले दुःख पाउन छाड्दैनन् । अझ यसमा व्यावसायिकता र बजार अर्थतन्त्रले प्रवेश पाएपछि उपभोक्तावादी सोचका कारण तिनीहरूप्रति घनघोर निर्दयता, क्रुरता र पाशविकता बढ्न गई मानवीयता भन्ने विषय नै रहने छैन भन्ने चिन्तनले पशुपन्छीजन्य वस्तुसमेत नखाने र पशुपन्छीबाट उत्पादित वस्तु धारण नगर्ने विश्वव्यापी अभियान सुरु भइरहेको छ । यसलाई नेपालमा कोही शुद्ध साकाहार भन्ने नाम दिन उद्यत भइरहेका छन्, कोही विशुद्ध साकाहार भन्न रमाउँछन् । अङ्ग्रेजीमा यसलाई ‘भिगन’ भनिन्छ ।