रौतहट। सानिमा बैंकको चन्द्रपुर शाखाले दुई विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको छ । केही दिनअघि आवेदन आह्वान गरेको बैंकले आवेदन परेका मध्येबाट दुईजनालाई छात्रवृत्तिका लागि छनोट गरेको हो । गरीब तथा बिपन्न परिवारका दुई विद्यार्थीलाई आवश्यक प्रक्रिया पुर्याएर छनोट गरेको शाखा प्रबन्धक नवीन कोइरालाले जानकारी दिए । छनोट भएका विद्यार्थीको रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न लाग्ने शुल्क बैंकले बेहोर्ने उनले जानकारी दिए । उनका अनुसार शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीका अतिरिक्त मासिक २ हजार समेत उपलब्ध गराइनेछ । छात्रवृत्तिको रकम प्रतिवर्ष प्रतिविद्यार्थी रू. ५० हजारसम्मको हुने उनको भनाइ छ ।