सडकछेउ व्यवसाय व्यवस्थापनको मुद्दा उठाएर उभिएरै धर्ना कसेका अभियन्ता ईः र काठमाडौं महानगरबीच ढिलै भए पनि बुधबार राति सहमति भएको छ । दुई पक्षबीच चारबुँदे सहमति भएसँगै ईःले करिब दुई सय घण्टा लामो धर्ना स्थगन गरेका छन् । संवादबाट सहमति जुट्नु सकारात्मक छ । यसले बन्द–हडताल वा कुनै आक्रामक आन्दोलन नगरी शान्तिपूर्ण तरिकाबाट पनि आवाज उठाउन सकिन्छ, माग सुनुवाइ हुन सक्छ भन्ने बलियो सन्देश प्रवाह गरेको छ ।