असार २, काठमाडौं । आन्तरिक राजस्व विभागले कोरोना महामारी पछि लागू गरिएको निषेधाज्ञाका कारण कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप गरेको छ ।
विभागले बुधवार प्रकाशित गरेको सूचना अनुसार अव विसं २०७७ साल चैत र वैशाख महीनाको मासिक तथा चैत र वैशाख महीनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।
त्यसैगरी विसं २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । त्यस्स्तै विसं २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि सोहि मितिसम्म तोकिएको छ ।
विसं २०७७ चैत र २०७८ वैशाख महीनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्यादसमेत असार २५ गतेसम्म थप भएको विभागले बताएको छ ।
सर्वोच्च अदालतले मंगलवार मात्रै सरकारका नाममा आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेश खारेज गर्दै सरकारलाई कर उठाउने बाटो खोलिदिएको थियो ।
निषेधाज्ञामा सरकारले कर उठाउन खोजेपछि अधिवक्ता सृजना अधिकारीले गत जेठ २ गते अर्थ मन्त्रालयलाई विपक्षी बनाएर रीट दायर गरेकी थिइन् । त्यसमा सुनुवाइ गर्दै ६ जेठमा न्यायाधीश मीरा खड्काको इजलाशले निषेधाज्ञाको अवधिमा कर नउठाउन तथा निषेधाज्ञा खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो ।
हेर्नुहोस् आन्तरिक राजस्व कार्यालयको सूचना :
यो पनि हेर्नुस् :
सर्वोच्चले खुला गर्यो कर उठाउने बाटो