हामीसँग कुबेरको ढुकुटी छ तर समस्या के छ भने छ भन्ने कुरा पनि हामी सबैलाई जानकारी छैन, भएकासँग पनि त्यो खोल्ने कुञ्जी छैन । त्यो कुञ्जी हो बौद्धिक सम्पत्ति । अनि ताला कहाँ लागेको छ त ? ताला लागेको छ हाम्रा व्यावसायिक प्रतिष्ठानहरूमा जहाँ पुरातन उत्पादन प्रणाली हाबी छ, अनि प्राज्ञिक संस्थाहरूमा जहाँ अथाह सम्भावना हुँदाहुँदै माल पाएर पनि चाल नपाएको स्थिति हावी छ, अनि सरकारी संयन्त्रमा जहाँ अझैसम्म पनि भरपर्दो कानूनी र संस्थागत व्यवस्था हुन सकेको छैन । प्रस्तुत लेखमा यस कुञ्जीको प्रयोग व्यावसायिक प्रतिष्ठानमा केन्द्रित गर्ने प्रयत्न गरिएको छ ।
कुनै पनि उद्योग व्यवसाय स्थापना गर्नुभन्दा पहिले बौद्धिक सम्पत्तिको सृजना तथा उपयोगको विषयमा राम्रो सोचका साथ अगाडि बढ्नु लगानीकर्ताका लागि अपरिहार्य हुन्छ । बौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षण र त्यसको व्यावसायिक उपयोेगको भरपर्दो पद्धति विकास गर्नु सरकारको पनि दायित्व हुन्छ ।
व्यावसायिक प्रतिष्ठान भन्नाले उद्योग व्यापार तथा अन्य आर्थिक कारोबार गर्ने संस्था भन्ने बुझिन्छ । मुनाफा आर्जन गर्ने उद्देश्यले आर्थिक लगानी गरिएका कारोबारहरू सबै यसैभित्र पर्छन् । यस्ता कारोबारमा मूल्य सृजना गर्ने तत्त्व बौद्धिक सम्पत्ति हो । सर्वप्रथम बौद्धिक सम्पत्तिका केही जरुरी र महत्त्वपूर्ण पक्षबारे यहाँ चर्चा गरिन्छ ।
बौद्धिक सम्पत्ति के हो भन्नेबारे पहिले नै धेरै चर्चा भइसकेको छ । तैपनि संक्षेपमा स्मरण गर्न सान्दर्भिक नै हुन्छ । बौद्धिक सम्पत्ति भनेको कसैले आफ्नो कुनै सृजनात्मक क्रियाकलापका लागि राज्य व्यवस्थाबाट प्राप्त गरेको कानूनी संरक्षण हो । व्यक्तिको यस्तो कानूनी अधिकारको तात्त्विक अर्थ हुन्छ । पेटेन्ट, औद्योगिक डिजाइन, ट्रेडमार्क, प्रतिलिपि अधिकार, व्यावसायिक गोपनीयता संरक्षण आदि जुनसुकै रूपमा स्थापित अधिकार भए पनि त्यसलाई बौद्धिक सम्पत्ति नै भनिन्छ । एकातिर यी सबै आफैमा बहुमूल्य अमूर्त सम्पत्ति हुन् र अर्को यिनलाई मूर्त सम्पत्तिमा रूपान्तरण गर्ने क्षेत्र व्यावसायिक प्रतिष्ठान हुन् ।
उद्योग व्यापारमा वस्तुतः दुई प्रकारको पूँजी लगानी हुन्छ– मूर्त पूँजी र अमूर्त पूँजी । विश्वमा औसत रूपमा औद्योगिक लगानीको ७० प्रतिशत अंश अमूर्त पूँजीले ओगटेको हुन्छ भने ३० प्रतिशत मात्र मूर्त पूँजीले ओगटेको हुन्छ । मूर्त पूँजीमा जमीन, भवन, मेशिनरी उपकरण, पूर्वाधारहरू, नगद तथा बैंक मौज्दात जस्ता पूँजी पर्छन् भने अमूर्त पूँजीमा श्रम, प्रविधि, योजना, उत्पादन रणनीति, व्यावसायिक सूचनाहरू, ख्याति र विभिन्न किसिमका बौद्धिक सम्पत्तिहरू पर्छन् । अमूर्त पूँजीमा सबैभन्दा बढी र महत्तम अंश बौद्धिक सम्पत्तिको हुन्छ । पुरातन उत्पादन प्रणालीमा वस्तुतः भौतिक पूँजी मात्र गणना गरिन्छ । तर, आधुनिक उत्पादन प्रणाली अवलम्बन गर्ने व्यावसायिक प्रतिष्ठानहरूमा मूर्तभन्दा अमूर्त पूँजी लगानीको महŒव धेरै बढी रहन गएको छ ।
अमूर्त पूँजीमा मूल्य अभिवृद्धिको हिसाबले बौद्धिक सम्पत्तिले चामत्कारिक भूमिका निर्वाह गर्छ । किनभने सृजनशीलता, नवीनता, मौलिकता र उपयोगिताको दृष्टिकोणबाट बौद्धिक सम्पत्तिको अग्रगण्य स्थान रहन गएको छ । उदाहरणको लागि आधुनिक पोषाकमा अलिकति नयाँ डिजाइन परिवर्तन गरिदिँदा युवाहरू दोब्बर मूल्य तिर्न तयार हुन्छन् । डिजाइन पनि एक प्रकारको बौद्धिक सम्पत्ति नै हो ।
बौद्धिक सम्पत्ति सेफमा वा लकरमा राख्ने वस्तु होइन । यो अत्यधिक मूल्यवान् भएको र खुला आकासमा (नेटमा) जो सुकै व्यक्तिको पहुँचमा रहेकोे हुँदा चोरी हुने वा दुरुपयोग हुने सम्भावना अत्यधिक बढी हुन्छ । जब कसैले एउटा नौलो वस्तु बजारमा ल्याउँछ र उपभोक्तालाई मुग्ध पार्छ अनि सहस्र प्रतिस्पर्धीले त्यसैको नक्कल वा दुरूपयोग गरी त्यस्तै वस्तु उत्पादन गर्न थाल्दछन् । एक त दुरुपयोग गर्नेले बौद्धिक सम्पत्ति सृजनाकोे लागत बेहोर्न नपर्दा त्यस्ता प्रतिस्पर्धीहरूले सक्कली उत्पादकलाई नै उछिन्ने सम्भावना रहन्छ भने अझ त्यसमा पनि उच्च स्केलमा उत्पादन, उच्च बजार पहुँच, उच्च वितरण सञ्जाल, उच्च व्यापार प्रवद्र्धन, राम्रो स्थान र स्रोतमा उच्च पहुँच भएको अवस्थामा उनीहरूले वास्तविक उत्पादनकर्तालाई सहजै पछार्न र निजलाई व्यवसायबाट नै हातधुने अवस्था सृजना गर्न सक्छन् । यस्तो अवस्थामा बौद्धिक सम्पत्तिको सृजना तथा उपयोग गरी नवीनतम प्रविधि प्रयोग गर्ने र नौलो वस्तु उत्पादन गर्ने सृजनशील व्यवसायीहरू निरुत्साहित हुने र बजार विचलन हुने अवस्था सृजना हुन सक्छ ।
अध्ययन, अनुसन्धान, सृजनशीलता र आविष्कारबाट कुनै नवीनतम बौद्धिक सम्पत्ति आर्जन वा स्थापित गर्न अत्यधिक मात्रामा शीप, श्रम र पूँजी र समय खर्च गर्नुपर्ने हुन्छ । बौद्धिक सम्पत्तिको उचित संरक्षण गर्ने पद्धति स्थापित नभएको अवस्थामा जो कोही प्रतिस्पर्धीले त्यसको दुरुपयोग गरी वास्तविक लगानीकर्तालाई जोखिममा पार्न सक्ने सम्भावना प्रस्टै देखिन्छ । हलुका पाराले बोल्ने र सतही रूपमा विचार गर्ने व्यक्तिले भन्न सक्छन्– उपभोक्तालाई कम मूल्यमा वस्तु उपलब्ध हुन्छ भने त्यो बौद्धिक सम्पत्ति अरूले चोरेर के भयो त ? यस्ता क्रियाकलाप यथार्थमा सम्बद्ध धनीको लागि मात्र होइन उपभोक्ता, समाज र देशका लागि पनि घातक हुन्छन् । एक त चोरीको माल, अझ त्यसमा पनि बौद्धिक सम्पत्तिको चोरी, कम मूल्यमा वस्तु प्रयोग गर्न पाउनुको के अर्थ ? हलो काटी मुंग्रो गर्नुको के प्रयोजन ?
अतः कुनै पनि उद्योग व्यवसाय स्थापना गर्नुभन्दा पहिले बौद्धिक सम्पत्तिको सृजना तथा उपयोगको विषयमा राम्रो सोचका साथ अगाडि बढ्नु लगानीकर्ताका लागि अपरिहार्य हुन्छ । त्यस्तै बौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षण र त्यसको व्यावसायिक उपयोेगको भरपर्दो पद्धति विकास गर्नु र संस्थागत आधार निर्माण गर्नु सरकारको पनि दायित्व हुन्छ । अन्यथा पुरातन उत्पादन पद्धतिबाट मुलुकको आर्थिक समृद्धि सम्भव छैन । प्राकृतिक स्रोतसाधन, श्रम बजार, भौतिक पूँजीको प्राचुर्य, तुलनात्मक लाभका क्षेत्र, सरकारी सुविधाजस्ता पक्षले उद्योग व्यापारको विकासका लागि अनुकूलता प्रदान गर्न त सक्छन् । तर, नवीनतम प्रविधि र मूल्य अभिवृद्धिको निर्णायक तत्त्व भने बौद्धिक सम्पत्ति नै हुन्छ ।
बौद्धिक सम्पत्ति अधिकार अन्तर्निहित प्रविधि खर्चिला पनि हुन्छन् । परम्परागत प्रविधि न्यूनतम लागतमा जो कसैले पनि प्राप्त गर्न सक्छन् । तर, त्यस्तो प्रविधिबाट उत्पादित वस्तु र सेवाले बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् र कालान्तरमा अत्यन्त खर्चिलो हुन्छ । नवीनतम प्रविधिमा बौद्धिक सम्पत्ति अधिकार अन्तर्निहित हुने भएकाले त्यसको उपलब्धता र संरक्षण महँगो भए तापनि उत्पादित वस्तु वा सेवाले बजार प्रतिस्पर्धा गर्न र अन्तरराष्ट्रिय बजार पाउन सक्छ तथा कालान्तरमा सस्तो पर्न जान्छ । प्रविधि अन्तरराष्ट्रिय बजारबाट पनि बढी मूल्य तिरेर प्राप्त गर्न सकिन्छ । आफ्नै प्रतिष्ठानभित्र वा प्राज्ञिक संस्थाका सृजनशील व्यक्तिको प्रयासबाट पनि विकसित गर्न सकिन्छ ।
आफ्नै मुलुकको सामाजिक, आर्थिक परिवेशमा शोध तथा विकास संस्था, साहित्यिक प्रतिष्ठान, औद्योगिक प्रतिष्ठान, सांस्कृतिक प्रतिष्ठान र विज्ञान तथा प्रविधि प्रतिष्ठानको प्रयासबाट सृजना वा विकास गर्न सकिन्छ । प्रविधि व्यावसायिक प्रतिष्ठानहरूले जेजसरी प्राप्त गरे तापनि बौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षणविना त्यो निष्प्रभावी हुन्छ अथवा कामयाबी हुन सक्दैन । जानेमा श्रीखण्ड नजाने खुर्पाको बींड त हो । त्यसैले कुञ्जीको पहिचान गराैं र त्यसलाई कसरी घुमाउने भन्ने तरीका पनि जानकारी राखौं कुबेरको ढुकुटी हामी आफैसँग छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाजका उपाध्यक्ष हुन् ।