शेयर कारोबारको आम्दानीमा आयकर नलाग्ने, पूँजीगत लाभकर नै अन्तिम

काठमाडौं । धितोपत्र कारोबारमा पूँजीगत लाभकर नै अन्तिम कर हुने भएको छ । अर्थ मन्त्रालयले आइतवार शेयर कारोबारबाट आर्जन हुने आम्दानीमा आयकर लगाउने प्रस्तावको विरोधमा आन्दोलित लगानीकर्तासँग पूँजीगत लाभकरलाई नै अन्तिम कर हुने व्यवस्था मिलाउने सहमति गरेको हो ।  अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थसचिव अर्जुनप्रसाद पोखरेल, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल समेतको उपस्थितिमा बजेटलगत्तै शुरू भएको विवाद टुंग्याउने सहमति भएको हो ।  सहमतिपत्रमा अर्थ मन्त्रालयको तर्फबाट राजस्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रीतेशकुमार शाक्यले हस्ताक्षर गरेका छन् । लगानीकर्ताको तर्फबाट तिलक कोइराला, ताराप्रसाद फुल्लेल, तुलसीराम ढकाल, नानिबाबु खरेल र राधा पोखरेलको हस्ताक्षर छ । आर्थिक विधेयक २०८० को दफा २९ मा रहेको धितोपत्र बजारका लगानीकर्तालाई आयकर लगाउने प्रावधान निष्क्रिय बनाई आर्थिक ऐनमा समावेश हुन नदिने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने सहमति भएको लगानीकर्ता ताराप्रसाद फुल्लेलले जानकारी दिए । आर्थिक विधेयक सार्वजनिक भएदेखि नै आम लगानीकर्ताले उक्त प्रावधानको विरोध गरेका थिए । अर्थ मन्त्रालयले पूँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने सहमति गरेसँगै लगानीकर्ताले ठूलो जित प्राप्त गरेको फुल्लेलले बताए ।  उनले धितोपत्र बजारका लगानीकर्तालाई दोहोरो करको समस्याबाट मुक्त गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको महŒवपूर्ण भूमिका रहेको पनि बताए । ‘बजारको नियामक निकायले लगानीकर्ताको साथमा रहेर कर नीति खारेजीमा सहयोग गर्नु ठूलो कुरा हो,’ फुल्लेलले भने । अर्थ मन्त्रालयको यो कदमले आम लगानीकर्ताको मनोबल बढेको उनको भनाइ छ । ‘लामो समयदेखि बजार घटिरहेको अवस्थामा सरकारले बजार सुधारका लागि पहल गर्न नयाँ योजना ल्याउनुपर्ने थियो,’ उनले भने, ‘बजेटमा पुरानै विषयहरू समेटिँदा पनि आशावादी बनेका लगानीकर्तालाई आयकरको कुराले निराश बनाएको थियो ।’  धितोपत्र बोर्डका अध्यक्ष हमालले अर्थ मन्त्रालयले आम लगानीकर्ताको हितमा सहमति गरेको बताए । पूँजीगत लाभकर नै अन्तिम हो/होइन भन्ने विषयमा अन्योल रहेको अवस्थामा अर्थ मन्त्रालयले स्पष्ट पारेर विवाद टुंग्याएको हमालले बताए । अर्थ मन्त्रालयले लगानीकर्ताहरूसँग गरेको सहमति कार्यान्वयनका लागि आर्थिक विधेयकको २९ नम्बर बुँदालाई निष्क्रिय पार्नेमा हमाल विश्वस्त छन् ।  धितोपत्र बजारका लगानीकर्ताले सरकारलाई नाफा भएको खण्डमा पूँजीगत लाभकर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । केही वर्षयता सरकारले धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न व्यक्तिगत लगानीकर्तालाई अल्पकालमा धितोपत्र बेच्दा नाफामा ७ दशमलव ५ प्रतिशत र दीर्घकालमा बेच्दा ५ प्रतिशत पूँजीगत लाभकर लगाइरहेको छ ।  सरकारले १ वर्षभन्दा कम अवधिमा धितोपत्र विक्री गर्नेलाई अल्पकालीन र १ वर्षभन्दा बढी राखेर बेच्नेलाई दीर्घकालीन लगानीकर्ताका रूपमा वर्गीकरण गरेको छ । भारित औसत लागतको आधारमा धितोपत्र बजारका लगानीकर्ताले पूँजीगत लाभकर तिर्दै आएका छन् । अर्थ मन्त्रालयको सहमतिपछि लगानीकर्ताले साबिक बमोजिमकै पूँजीगत लाभकर तिर्नुपर्नेछ भने त्यो बाहेकका अन्य करको भार लगानीकर्तामा पर्ने छैन । दोहोरो करविरुद्ध उत्रिएका लगानीकर्ताले गत शुक्रवारदेखि नै आन्दोलन गर्दै आएका थिए ।  लगानीकर्ताले शुक्रवार नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र ५० ओटै ब्रोकर कार्यालयलाई शेयर कारोबार बन्द गरी आन्दोलनमा सहयोग गर्न आग्रह गरेका थिए । आइतवार कारोबार बन्द गर्न भन्दै लगानीकर्ताले सम्पूर्ण ब्रोकर कार्यालयमा ताला लगाएका थिए । अर्थसँग सहमति भएपछि ताला खोलेर कारोबार शुरू गरिएको हो ।  दोहोरो कर नलाग्ने पक्का भएसँगै लगानीकर्ता उत्साहित भएका छन् । आइतवार धितोपत्र बजारको तथ्यांकीय मापक नेप्से २ दशमलव ८४ प्रतिशत बढेको छ । यस दिन सबै समूहगत परिसूचक बढेका छन् । दोस्रो बजारको कारोबार रकम १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ नाघेको छ । कुल बजार पूँजीकरण एकै दिन ७७ अर्ब ४१ करोड ८६ लाखले बढेर २८ खर्ब २ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ ।

सम्बन्धित सामग्री

माघमा बजार घटे पनि पूँजीगत लाभकर करीब २३ करोड बढ्यो

काठमाडौं । माघ महीनामा धितोपत्र दोस्रो बजार पुस महीनाको तुलनामा घटे पनि सरकारको आम्दानी भने बढेको छ । सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट माघ महीनामा मात्र ९७ करोड २० लाख ३ हजार ७७३ रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको हो । पुस महीनामा सरकारले ७४ करोड ३९ लाख १३ हजार  २२९ रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको तथ्यांकलाई आधार मान्दा पुस महीनाको तुलनामा माघ महीनामा सरकारले २२ करोड ८० लाख ९० हजार ५४३ रुपैयाँ बढी पूँजीगत लाभकर संकलन गरेको हो । सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले पछिल्लो महीना धितोपत्र बजारबाट सरकारले संकलन गर्ने कर रकम बढ्दो क्रममा रहेको बताएका छन् । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा ४० करोड ८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको सरकारले त्यसपछिका महीना त्योेभन्दा कम पूँजीगत लाभकर संकलन गरेकोमा पुसदेखि साउन महीनायताकै बढी लाभकर संकलन भएको सूचना अधिकारी न्यौपाने बताउँछन् । मङ्सिरमा भने सरकारले ३० करोड ५३ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेका तथ्यांकसमेत न्यौपानेले उपलब्ध गराएका छन् । उनका अनुसार पुसको तुलनामा माघमा दीर्घकालीन लगानीकर्ताबाट संकलन हुने कर रकममा ९७ लाख ४२ हजार रुपैयाँले कमी आएको छ । पुसमा १७ करोड २८ लाख रुपैयाँभन्दा बढी दीर्घकालीन लगानीकर्ताबाट लाभकर संकलन भएकोमा माघमा १६ करोड ३१ लाख रुपैयाँभन्दा बढी मात्र भएको जानकारी न्यौपानेले दिएका छन् । माघमा अल्पकालीन लगानीकर्ताबाट सबैभन्दा बढी पूँजीगत लाभकर सकलन भएको न्यौपानेको भनाइ छ । पुसमा ५२ करोड ४४ लाख रुपैयाँभन्दा बढी अल्पकालीन लगानीकर्ताबाट लाभकर संकलन भएकोमा माघमा २१ करोड ६९ लाख रुपैैयाँभन्दा बढीले वृद्धि भई ७४ करोड १३ लाख ८७ हजार संकलन भएको न्यौपानेले बताएका छन् । उनका अनुसार माघमा संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । पुसमा संस्थागत लगानीकर्ताबाट ४ करोड ६५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएकोमा माघमा २ करोड ९ लाख रुपैयाँले बढेको छ । माघ महीनामा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट नाफा कमाएबापत संकलन गरेको करको तथ्यांकलाई हेर्दा बजार घटे पनि लगानीकर्ताले नाफामै धितोपत्र कारोबार गरेको देखिन्छ । पुस महीनाको अन्तिम कारोबार दिन २ हजार १२० दशमलव ६२ बिन्दुमा रहेको नेप्से परिसूचक माघ महीनाको अन्तिम कारोबार दिन २ हजार १०१ दशमलव १६ बिन्दुमा झरेको छ । सिगंटी हाइड्रो इनर्जीले फागुन २ देखि १ करोड ४५ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरिसकेको छ । पुस १९ सम्म कायम शेयरधनीले सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । सिंगटीको हकप्रद शेयर निष्कासन बन्द हुने मिति फागुन २२ गते रहेको छ ।  त्यस्तै रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्दै छ । माघ २१ सम्म कायम शेयरधनीले रिडीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर चैत ८ गतेसम्म विक्रीमा रहनेछ । अंकको हिसाबमा पुसको तुलनामा माघमा नेप्से परिसूचक १९ दशमलव ४६ अंक घटेको देखिन्छ । माघ महीनामा देखिएको नेप्सेको उतारचढावलाई हेर्दा दैनिक कारोबारमा न्यूनतम २ हजार ५३ बिन्दुसम्म झरेको र २ हजार १७८ बिन्दुसम्म पुगेको समेत देखिन्छ । अल्पकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन भएको तथ्यांकलाई आधार मान्दा भने छोटो समयमै नाफा बुक गरी लगानीकर्ता कारोबारमा सहमागी भएको अनुमान भने लगाउन सकिन्छ । अनुभवी लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले बजारको आकार बढ्दै जाँदा दीर्घकालीन लगानीकर्ता भने घट्दै गएको बताउँछन् । बजारको दिगो विकासका लागि दीर्घकालीन लगानी महत्त्वपूर्ण हुने भएकाले क्षणिक लाभलाई हेरेर कारोबार नगर्न सबैमा अनुरोध गरेका छन् । लाखौं नेपालीको लगानी रहेको बजारको दिगोपनका लागि दीर्घकालीन लगानीमा जोड दिन आग्रह गर्दै उनले अल्पकालीन कारोबारले दीर्घकालीन उपलब्धि प्राप्त नहुने बताएका छन् । धितोपत्र बजारका लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गरेको खण्डमा सरकारलाई १० प्रतिशतसम्म कर बुझाउनुपर्ने हुन्छ । सरकारले पूँजीगत लाभकर शीर्षकमा धितोपत्र बजारका संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव ५ प्रतिशतसम्म कर संकलन गर्ने गरेको छ । व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन हुँदै आएको छ । एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम शेयर कायम गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गर्दै सरकारले अल्कालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको हो ।

७१ प्रतिशतले घट्यो लाभकर

काठमाडौ। धितोपत्र बजारबाट सरकारले आर्थिक वर्ष (आव) २०७९/८० मा रू. २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनबाट रू. ९९ करोड ८५ लाखभन्दा बढी र अल्पकालीनबाट रू. १ अर्ब ६४ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९/८० मा रू. ३३ करोड १२ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पूँजीगत लाभकर संकलन गरेको हो । अघिल्लो आव २०७८/७९ मा सरकारले रू. १० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट रू. २ अर्ब ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट रू. ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको थियो । त्यस वर्ष संस्थागत लगानीकर्ताबाट रू. १ अर्ब २६ करोडभन्दा बढी कर संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा रकमको हिसाबमा सरकारको आम्दानी रू. ७ अर्ब ३८ करोड २४ लाखभन्दा धेरैले घटेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष अल्पकालीन लगानीकर्ताबाट रू. ४ अर्ब ८५ करोड ५८ लाख कम पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीबाट संकलित कर अघिल्लो वर्षको तुलनामा गतवर्ष रू. १ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ कम छ ।  सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले आव २०७८/७९ को कुल पूँजीगत लाभकरमध्ये रू. २२ करोड ५९ लाखभन्दा बढी व्यक्तिगत अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबाट संकलन भएको जानकारी दिए । आव २०७८/७९ नेपालको धितोपत्र बजारले कीर्तिमान कायम गरेको वर्ष भएकोले पूँजीगत लाभकर संकलन बढी भएको उनले बताए । २०७८ भदौ २ गते नेपालको समग्र धितोपत्र बजार मापक नेप्से परिसूचक ३ हजार २०० विन्दुभन्दा माथि पुगेको थियो ।  अघिल्लो आवमा जस्तो उत्साह आव २०७९/८० मा लगानीकर्तामा नदेखिएकाले सरकारको आम्दानीमा कमी आएको न्यौपानेको अनुमान छ । उनले आव २०७८/७९ को साउनमा मात्र रू. ३ अर्ब २४ करोड ६९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । शेयर सूचकले कीर्तिमान कायम गरेको दिन कुल बजार पूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । आव २०७९/८० को अन्तिम दिन कुल बजार पूँजीकरण रू. ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । लगानीकर्ताको सम्पत्ति मूल्य कम भएसँगै गत आवमा सरकारको लगानीकर्ताबाट नाफामा उठाउने करमा समेत कमी आएको न्यौपानेको भनाइ छ । सरकारले धेरै कर उठाउने क्षेत्रमध्ये धितोपत्र बजार पनि एक हो । कोरोना महामारीले देशका अन्य आर्थिक गतिविधि बन्द रहेको बेला पनि सरकारले धितोपत्र बजारबाट मासिक अर्बौं रुपैयाँ कर संकलन गरेको थियो ।  सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताले कमाएको नाफामा १० प्रतिशतसम्म पूँजीगत लाभकर लिन्छ छ । संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट बढीमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर सरकारले संकलन गर्छ । व्यक्तिगत लगानीकर्ताले दुई प्रकारको पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।  एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र सोभन्दा कम अवधि शेयर कायम गर्नेलाई अल्पकालीन लगानीकर्ता मानेर सरकारले अल्पकालीनबाट ७ दशमलव ५ र दीर्घकालीनबाट ५ प्रतिशत पूँजीगत लाभकर असुल्छ । धितोपत्रका लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था छ ।

जेठमा वैशाखको भन्दा दोब्बर लाभकर

काठमाडौं । गएको जेठमा सरकारले धितोपत्र बजारका लगानीकर्ताबाट २५ करोड ९५ लाखभन्दा बढी कर संकलन गरेको छ । सरकारले धितोपत्र दोस्रो बजारमा कारोबार गरी नाफा कमाएका लगानीकर्ताबाट उक्त रकम बराबरको पूँजीगत लाभकर संकलन गरेको हो ।  धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले नाफा कमाएको खण्डमा १० प्रतिशतसम्म कर संकलन गर्ने गर्छ । संस्थागत लगानीकर्ताको नाफामा १० प्रतिशत पूँजीगत लाभकर संकलन गर्ने सरकारले व्यक्तिगत लगानीकर्ताको अल्पकालीन नाफामा ७ दशमलव ५ र दीर्घकालीन नाफामा ५ प्रतिशत पूँजीगत लाभकर लिन्छ । धितोपत्र किनेको १ वर्षभन्दा कम अवधिमा विक्री गरे अल्पकालीन र एक वर्षभन्दा बढी अवधि राखेर बेचे दीर्घकालीन हुन्छ ।  सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारीअनुसार जेठमा अल्पकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन भएको छ । उनले कुल पूँजीगत लाभकरमा १२ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम अल्पकालीन लगानीकर्ताबाट संकलन भएको जानकारी दिए । दीर्घकालीन लगानीकर्ताबाट ९ करोड २ लाखभन्दा बढी र संस्थागत लगानीकर्ताबाट ४ करोड ७ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका प्रवक्ता न्यौपानेका अनुसार जेठमा वैशाखको तुलनामा झन्डै दोब्बर पूँजीगत लाभकर संकलन भएको छ । वैशाखमा सरकारले १३ करोड ५४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । वैशाखको तुलनामा जेठमा अल्पकालीन लगानीकर्ताबाट ६ करोड ७२ लाखभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट ३ करोड ३ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । संस्थागत लगानीकर्ताबाट वैशाखको तुलनामा जेठमा २ करोड ६४ लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भएको छ । वैशाखको तुलनामा जेठमा १२ करोड ४० लाख बढी लाभकर संकलन भएको हो । पूँजीगत लाभकर संकलनको अवस्था हेर्दा छोटो समयमै कारोबारमा सहभागी भएका लगानीकर्ताले बढी लाभ लिएको देखिन्छ । पछिल्लो समय बजारको अवस्थालाई हेरेर छोटो समयमै लगानीकर्ताले नाफा बुक गरिहाल्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन् । यसले बजारको दीर्घकालीन विकासमा भने असर गर्ने बुझाइ उनीहरूको छ ।  वैशाखको तुलनामा जेठमा धितोपत्र दोस्रो बजार १२ दशमलव १० प्रतिशतले बढेको छ । वैशाख मसान्तमा १ हजार ८२१ दशमलव ६४ विन्दुमा रहेको नेप्से परिसूचक जेठ मसान्तसम्म २ हजार ४२ दशमलव शून्य ७ विन्दुमा पुगेको थियो ।  कुल बजार पूँजीकरण वैशाखको तुलनामा जेठमा ३ खर्ब २८ अर्ब ४३ करोड ८७ लाख रुपैयाँले बढेको छ । वैशाख मसान्तसम्म २६ खर्ब ५७ अर्ब ७५ करोड ७१ लाख रहेको कुल बजार पूँजीकरण जेठ मसान्तसम्म २९ खर्ब ८६ अर्ब १९ करोड ५९ लाख रुपैयाँ कायम भएको थियो ।  बजार बढ्दा आम लगानीकर्तासँगै सरकारको आम्दानीसमेत बढ्ने गरेकाले यो क्षेत्रको विकास र विस्तारमा विशेष ध्यान जानुपर्नेमा लगानीकर्ताले जोड दिएका छन् । धितोपत्र बजारका लगानीकर्ताहरूले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था छ । पूँजीगत लाभकर तिर्दै आएका धितोपत्र बजारका लगानीकर्तालाई आगामी आर्थिक वर्षदेखि आयकरको दायरामा ल्याउने विषयले चर्चा पाएको थियो । आम लगानीकर्ताको दबाबपछि आर्थिक विधेयकमा घुमाउरो पारामा राखिएको उक्त व्यवस्था खारेज गर्न अर्थ मन्त्रालय सहमत भएको छ । अर्थले लगानीकर्तासँगको सहमतिमा धितोपत्र बजारका लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ ।

पूँजीगत लाभकर नै अन्तिम कर हो कि होइन ? 'कानुनी व्यवस्थाले दोहोरो लाग्दैन'

हालै आर्थिक अभियानमा ‘पूँजीगत लाभकरलाई अन्तिम कर मान्न माग’ र ‘दोहोरो कर तिर्न तयार छैनन् लगानीकर्ता’ भन्ने समाचार छापिएको थियो । यो समाचार मात्र होइन, अहिले शेयरबजारका लगानीकर्ता सबैलाई यो व्यवस्था टाउको दुखाइ भएको छ । यही कारण शेयरबजार घटेको हो पनि भनिन्छ । मेरो विचारमा पूँजीगत लाभकर न त अन्तिम कर हो न यो दोहोरो कर हो । यससम्बन्धी आयकर ऐनका दफाहरू स्पष्ट छन् र ती दफाले कुनै प्रकारको अन्योलको सृजना गरेको छैन । तर, यस सम्बन्धमा आयकर ऐनका सम्बद्ध दफाहरूको अभिप्राय अथवा सही अर्थ नबुझेकाले नै अन्योल सृजना भएको हो । साथै आर्थिक विधेयक २०८० को दफा २९ ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छूटसम्बन्धी विशेष व्यवस्थाले’ अन्योल बढाउनमा आगोमा घिउ हाल्ने कार्य गरेको छ । आन्तरिक राजस्व विभागले पनि प्रेस विज्ञप्ति जारी गरी पूँजीगत लाभकर अन्तिम कर हो भनी लेखेको छ ।  यस सन्दर्भमा आयकर ऐनका सान्दर्भिक दफाहरूको सही व्याख्या यस प्रकारले गर्न सकिन्छ ।   धितोपत्र, जग्गा तथा घरजग्गाको निःसर्गबाट पूँजीगत लाभ भएको अवस्थामा आयकर ऐनको दफा ९५ क ले जुनजुन दरले अग्रिम कर असुल गर्नुपर्ने भनी लेखेको छ उक्त ऐनको अनुसूची १ को दफा ४ ले पनि ती ती दरले नै कर लगाउनु भनी लेखको छ । अर्थात्, पूँजीगत लाभ भएको अवस्थामा अग्रिम करको दर र उक्त लाभमा लाग्ने करका दरहरू उही छन् र कुनै फरक छैन ।  जहाँसम्म पूँजीगत लाभकर अन्तिम हो अथवा होइन भन्ने प्रश्न छ, त्यसको जवाफ आयकर ऐनको दफा ९५ क को उपदफा (१३) ले दिएको छ । यस उपदफामा लेखिएको छ ‘यस दफाबमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले तिर्नुपर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।’ यस व्यवस्थाले स्पष्ट पारेको छ कि दफा ९५ क अनुसार कुनै पनि अग्रिम कर अन्तिम होइन, अग्रिम नै हो । तर, जबसम्म हामी दफा ९७ को प्रावधानलाई दफा ९५ क को प्रावधानसँग जोडेर अध्ययन गर्दैनौं तबसम्म यो कर अन्तिम होइन, अग्रिम हो भन्ने जवाफ प्रत्येक अवस्थामा सही हुन सक्दैन । आयकर ऐनको दफा ९७ मा आय विवरण दाखिला गर्न नपर्ने अवस्थाहरू बारे कुरा गरेको छ । ती अवस्थाहरूमध्ये एउटा यो पनि छ, ‘(ङ) आय विवरण पेश गर्न नचाहने गैरव्यावसायिक करयोग्य सम्पत्ति निःसर्गको आयमात्र भएको प्राकृतिक व्यक्ति ।’ अर्थात् कुनै प्राकृतिक व्यक्तिको उक्त वर्षमा गैरव्यावसायिक करयोग्य सम्पत्ति निःसर्गको आयमात्र भएको अवस्थामा उक्त व्यक्तिले आय विवरण दाखिला गर्नु पर्दैन । तर, दफा ९७ को उपदफा (२) ले यस प्रावधानमा पनि थप शर्त लगाएको छ, ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा ४० लाख रुपैयाँभन्दा बढी भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नुपर्ने छ ।’ यहाँ बुझ्नुपर्ने कुरा के हो भने जुन अवस्थामा पूँजीगत लाभकरका लागि आय विवरण दाखिला गर्नु पर्दैन भनी लेखेको छ, ती अवस्थामा मात्र पूँजीगत लाभकर अन्तिम कर मानिन्छ । उक्त अवस्थामा पनि लगानीकर्ताले आय विवरण दाखिला गर्न चाहेमा गर्न सक्ने भनी उसलाई स्वैच्छिक अधिकार प्रदान गरेको छ ।  आय विवरण दाखिला गर्दा दोहोरो कर भार पर्न जान्छ भन्ने धारणा पनि कपोलकल्पित हो । आयकर ऐनमा यस्तो लेखेको नै छैन । आय विवरणअनुसार गणना गरिएको कर दायित्वको रकम जैले पनि जम्मा अग्रिम करका रूपमा काटिएको रकमभन्दा घटी नै हुन्छ, बढी त कुनै हालतमा पनि हुँदैन । किनभने नेप्सेले जुनजुन कारोबारबाट लाभ भएको छ उक्त लाभ माथि तोकिएको दरले अग्रिम कर कट्टी गर्ने गर्छ, तर जुन कारोबारमा नोक्सान भएको छ उक्त नोक्सानको समायोजन लाभबाट गर्दैन । लगानीकर्ताले आय विवरण दाखिला गर्दा उक्त वर्षमा भएको लाभबाट नोक्सान घटाई खुद लाभ अथवा खुद नोक्सानको गणना गर्छ र खुद लाभ भएको खण्डमा मात्र उक्त खुद लाभको रकममा तोकिएको दरले कर लगाई जम्मा कर दायित्वको निर्धारण गर्छ । खुद नोक्सान भएको खण्डमा उक्त नोक्सानको रकमलाई आगामी वर्षको लाभबाट समायोजन गर्न पाउने गरी व्यवस्था गर्छ । आय विवरणअनुसारको कर दायित्वभन्दा अग्रिम कर कट्टी भएको रकम बढी भएमा बढी भएजतिको रकम आगामी वर्षको कर दायित्वबाट घटाउन पाइनेछ ।  आय विवरण भर्दा लगानीकर्तालाई निम्न फाइदा हुन जान्छ: कारोबार वर्षमा शेयर कारोबारमा बेहोरेको नोक्सान भए उक्त आय विवरणमा देखाउन पाइन्छ र आगामी वर्षमा हुने लाभबाट घटाउन पाइन्छ । एउटा शेयर बेच्दा भएको नोक्सानलाई अर्को शेयर बेच्दा भएको नाफाबाट घटाउन पाइने भएकाले यसरी वर्षभरिमा शेयर कारोबारबाट खुद लाभको गणना गरी उक्त खुद लाभमाथि मात्र कर दायित्वको निर्धारण गरिन्छ ।  प्राकृतिक व्यक्तिले पाउने कर छूटको रकम रू. ५ लाख वा रू. ५ लाख पनि घटाई बाँकी रहेको आयमा मात्र ५ वा ७ दशमलव ५ प्रतिशतले कर लाग्छ । शेयर खरीद गर्न बैंक वा वित्तीय कम्पनीबाट लिएको ऋणमा तिरेको ब्याज तथा शेयर कारोबारकै लागि गरिएका अन्य प्रत्यक्ष खर्च कर प्रयोजनका लागि उक्त आयबाट घटाउन पाइन्छ । आर्थिक विधेयक २०८० को दफा २९ निम्न अवस्थामा मात्र प्रभावित हुन्छ ।  क) कुनै एउटा प्राकृतिक व्यक्तिले धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबार गर्ने उद्देश्य लिई एउटा व्यावसायिक फर्म कुनै पनि एक सरकारी निकायमा दर्ता गराई वा नगराई सञ्चालन गरिरहेको छ भने र उक्त फर्मको नामबाट नै धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबार गरिरहेको छ भने मात्र ती कारोबारहरूलाई व्यावसायिक कारोबार भन्न मिल्छ । यस्तो अवस्थामा मात्र उक्त व्यावसायिक फर्मले खरीद गरेका धितोपत्र, जग्गा तथा घरजग्गालाई व्यापारिक मौज्दात मान्नुपर्छ । त्यसको निःसर्गबाट निर्धारण गरिएको करयोग्य आयलाई व्यवसायको आय मानी २५ प्रतिशतको दरले कर तिर्नुपर्ने हुन्छ । अन्य कुनै पनि अवस्थामा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारलाई नियमित व्यावसायिक कारोबार हो भनी भन्नै मिल्दैन ।  लेखक जगदिश अग्रवाल वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् ।

माघ महीनामा करीब ५०% बढ्यो पूँजीगत लाभकर, अल्पकालीन लगानीकर्ताको हिस्सा ६९.५२ %

फागुन ८, काठमाडौं । सरकारले माघ महीनामा धितोपत्र बजारबाट रू. ८० करोड ५४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड सिडिएससीका अनुसार पुस महीनाको तुलनामा माघमा पूँजीगत लाभकर ४९ दशमलव ८९ प्रतिशत बढी हो । पुस महीनामा रू. ५३ करोड ७३ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो ।  धितोपत्र कारोबारमा नाफा कमाएका लगानीकर्ताहरुले लाभकर वापतको उक्त रकम सरकारलाई बुझाएका हुन् । उक्त लाभकरमा अल्पकालीन लगानीकर्ताहरुको हिस्सा बढी रहेको छ । माघ महीनामा अल्पकालीन लगानीकर्ताहरुबाट रू. ५५ करोड ९९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीकर्ताहरुबाट रू. २४ करोड ५४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको सिडिएससीले जानकारी दिएको छ । पुस महीनाको भन्दा माघ महीनामा पूँजीगत लाभकर वृद्धि हुनुले धितोपत्रबजारमा कारोबार गर्नेहरुको नाफा बढेको पुष्टि हुन्छ । यसमा पनि अल्पकालीन लगानीकर्ताहरुले बढी नाफा कमाएको देखिएको छ । माघ महीनामा कुल पूँजीगत लाभकरमध्ये ६९ दशमलव ५२ प्रतिशत अल्पकालीन लगानीकर्ताको र ३० दशमलव ४८ प्रतिशत हिस्सा दीर्घकालीन लगानीकर्ताहरुको रहेको छ ।  माघमा पुस महीनाको तुलनामा कारोबार रकम र शेयर कित्ता दुबैमा वृद्धि भएको छ । पुस महीनामा रू. ९० अर्ब ६२ करोड बराबरको १७ करोड ३२ लाख ५३ हजार ८१४ कित्ता शेयर कारोबार भएको थियो । माघ महीनामा भने रू. १ खर्ब १७ अर्ब ८९ करोड बराबरको २३ करोड ४६ हजार २८९ कित्ता शेयर कारोबार भएको छ । पुस महीनाको भन्दा माघ महीनामा कारोबार रकम ३० दशमलव १० प्रतिशत र कारोबार कित्ता ३२ दशमलव ७८ प्रतिशतले बढेको छ । नेप्से परिसूचक भने पुस महीनाको अन्तिम कारोबार दिनभन्दा माघ महीनाको अन्तिम कारोबार दिन १ दशमलव ९७ प्रतिशत घटेको थियो । पुस मसान्तसम्म २ हजार ८५७ दशमलव ७५ विन्दुमा रहेको नेप्से परिसूचक माघ मसान्तसम्म २ हजार ८०१ दशमलव ५६ विन्दुमा झरेको थियो । अंकको हिसावमा पुस मसान्तको भन्दा माघ मसान्तसम्ममा ५६ दशमलव १९ अंकले नेप्से परिसूचक घटेको हो । धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र तिर्नुपर्ने यो कर यसै आर्थिक वर्षदेखि व्यक्तिगत लगानीकर्ताहरुको हकमा पनि फरक फरक लागू भएको हो । यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताहरुले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका हुन् । दीर्घकालीन  लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सरकारले ३६५ दिनभन्दा अघि खरिद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ ।  धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ । पूँजीगत लाभकर संकलनको अवस्था : स्रोत : सिडिएससी  कारोबार रकम र कित्ताको अवस्था : स्रोत : सिडिएससी र नेप्से

पुस महीनामा करीब ५४ करोड पूँजीगत लाभकर संकलन : अल्पकालिन लगानीकर्ताबाट साढे ६५ %

माघ २, काठमाडौं । पुस महीनामा मात्र सरकारले रू. ५३ करोड ७३ लाख ५० हजार पूँजीगत लाभकर संकलन गरेको छ । धितोपत्र कारोबारमा नाफा कमाएका लगानीकर्ताहरुले लाभकर बापतको उक्त रकम सरकारलाई बुझाएका हुन् । धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंसिर महीनाको तुलनामा पुस महीनामा पूँजीगत लाभकर संकलन बढेको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बजारमा मंसिर महीनाको तुलनामा पुस महीनामा धितोपत्र कारोबार रकमसँगै बजार पनि बढेकाले पूँजीगत लाभकर संकलन पनि बढेको बताए ।  उनका अनुसार मंसिर महीनामा रू. ५२ करोडभन्दा बढी मात्र पूँजीगत लाभकर संकलन भएको थियो । पूँजीगत लाभकर संकलन बढ्नुको अर्थ बजारमा कारोबार गर्ने हरुको नाफा बढेको प्रष्ट हुन्छ । पुस महीनामा रू. ९० अर्ब ६२ करोड ४४ लाख ५७ हजार बराबरको १७ करोड ३२ लाख ५३ हजार ८१४ कित्ता शेयर कारोबार भएको छ । मंसिर महीनामा भने रू. ८४ अर्ब १० करोड ७५ लाख १७ हजार बराबरको १७ करोड ७८ हजार ३४० कित्ता शेयर कारोबार भएको थियो । पुस महीनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक पनि २ हजार ८५७ दशमलव ७५ विन्दुमा बन्द भएको थियो । पुस महीनामा संकलन भएको कुल पूँजीगत लाभकरमा सर्वाधिक हिस्सा भने अल्पकालिन लगानीकर्ताहरुले ओगटेका छन् । एक वर्षभन्दा कम अवधिमा धितोपत्र कारोबार गर्ने लगानीकर्ताहरुले ६५ दशमलव ५९ प्रतिशतले हुन आउने रू. ३५ करोड २४ लाख ६३ हजार बराबरको पू्ँजीगत लाभकर तिरेका हुन् ।  त्यस्तै, एक वर्षभन्दा बढी अवधि धितोपत्र होल्ड गरी विक्री गरेको अवस्थामा भएको नाफाबाट ३४ दशमलव ४१ प्रतिशतले हुन आउने रू. १८ करोड ४८ लाख ८७ हजार बराबरको लाभकर दीर्घकालिन लगानीकर्ताहरुले तिरेका छन् ।  धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र तिर्नु पर्ने यो कर यसै आर्थिक वर्षदेखि व्यक्तिगत लगानीकर्ताहरुको हकमा पनि फरक फरक लागू भएको हो । यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताहरुले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका हुन् ।  दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सरकारले दीर्घकालिन लगानीकर्ताको हकमा ५ प्रतिशत र अल्पकालिन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । यस वर्षदेखि धितोपत्र कारोबारमा सहभागी लगानीकर्ताहरुले ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्न थालेका हुन् ।  यस वर्षदेखि सामूहिक लगानीकोषहरुलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ । धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ । पुस महीनामा संकलिन पूँजीगत लाभकरको अवस्था :                                                          स्रोतः सिडिएससी र नेप्से

व्यक्तिगत लगानीकर्ताका लागि समान ५ % पूँजीगत लाभकर असार मसान्तसम्म मात्र

असार ३१, काठमाडौं । धितोपत्र कारोबारमा व्यक्तिगत लगानीकर्ताहरुको लागि समान ५ प्रतिशत पूँजीगत लाभकर असार ३१ गतेसम्म मात्र लागू हुनेछ ।   सरकारले यस वर्षको बजेटमा आगामी आर्थिक वर्षदेखि धितोपत्र कारोबारमा सहभागी व्यक्तिगत लगानीकर्ताहरुका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।  दिर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उदेश्य अनुरुप सरकारले आगामी वर्षदेखि दिर्घकालीन लगानीकर्ताको हकमा ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।  यस अघि व्यक्तिगत लगानीकर्ताहरुले समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् । यो समान लाभकरको व्यवस्था असार ३१ गते बिहीवारसम्म भएको कारोबारमा मात्र लागू हुनेछ । साउन १ गतेदेखि परिवर्तित पूँजीगत लाभकरको व्यवस्था भने आगामी आइतवारदेखिको कारोबारमा लागू हुनेछ ।  अव ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।  धितोपत्र कारोबारमा नाफा नभएको खण्डमा भने पूँजीगत लाभकर तिर्नुपर्ने छैन । यस वर्षदेखि सामूहिक लगानी कोषहरुलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ ।धितोपत्र कारोबारमा सहभागी व्यक्तिगत लगानीकर्ताहरुले तिर्ने पूँजीगत लाभकरलाई आन्तरिक राजस्व विभागले अन्तिम करको मान्यता दिएको छ ।  राजस्व विभागले नेपाल धितोपत्र बोर्डलाई पत्रचार गर्दै प्राकृतिक व्यक्तिको हकमा लाग्ने हालको ५ प्रतिशत पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिएको हो । यो अवस्थामा आगामी वर्षदेखि अल्पकालिन लगानीकर्ताका लागि निर्धारण गरिएको ७ दशमलव ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताको लागि निर्धारण गरिएको ५ प्रतिशत पूँजीगत लाभकरनै अन्तिम कर हुनेछ ।  धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ ।संस्थागत लगानीकर्ताको लाभकर अन्तिम कर हुने वा नहुने भन्ने विषयमा भने राजस्व विभागको आधिकारिक धारणा भने आएको छैन । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्दै आएका छन् । आगामी दिनमा पनि सोही गणना विधिबाट अल्पकालीन र दिर्घकालीन लगानीकर्ताको रुपमा व्यक्तिगत लगानीकर्ताहरुले फरक फरक पूँजीगत लाभकर तिर्नुपर्नेछ ।