असार ३१, काठमाडौं । धितोपत्र कारोबारमा व्यक्तिगत लगानीकर्ताहरुको लागि समान ५ प्रतिशत पूँजीगत लाभकर असार ३१ गतेसम्म मात्र लागू हुनेछ ।
सरकारले यस वर्षको बजेटमा आगामी आर्थिक वर्षदेखि धितोपत्र कारोबारमा सहभागी व्यक्तिगत लगानीकर्ताहरुका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।
दिर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उदेश्य अनुरुप सरकारले आगामी वर्षदेखि दिर्घकालीन लगानीकर्ताको हकमा ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।
यस अघि व्यक्तिगत लगानीकर्ताहरुले समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् । यो समान लाभकरको व्यवस्था असार ३१ गते बिहीवारसम्म भएको कारोबारमा मात्र लागू हुनेछ । साउन १ गतेदेखि परिवर्तित पूँजीगत लाभकरको व्यवस्था भने आगामी आइतवारदेखिको कारोबारमा लागू हुनेछ ।
अव ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।
धितोपत्र कारोबारमा नाफा नभएको खण्डमा भने पूँजीगत लाभकर तिर्नुपर्ने छैन । यस वर्षदेखि सामूहिक लगानी कोषहरुलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ ।धितोपत्र कारोबारमा सहभागी व्यक्तिगत लगानीकर्ताहरुले तिर्ने पूँजीगत लाभकरलाई आन्तरिक राजस्व विभागले अन्तिम करको मान्यता दिएको छ ।
राजस्व विभागले नेपाल धितोपत्र बोर्डलाई पत्रचार गर्दै प्राकृतिक व्यक्तिको हकमा लाग्ने हालको ५ प्रतिशत पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिएको हो ।
यो अवस्थामा आगामी वर्षदेखि अल्पकालिन लगानीकर्ताका लागि निर्धारण गरिएको ७ दशमलव ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताको लागि निर्धारण गरिएको ५ प्रतिशत पूँजीगत लाभकरनै अन्तिम कर हुनेछ ।
धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ ।संस्थागत लगानीकर्ताको लाभकर अन्तिम कर हुने वा नहुने भन्ने विषयमा भने राजस्व विभागको आधिकारिक धारणा भने आएको छैन ।
धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्दै आएका छन् । आगामी दिनमा पनि सोही गणना विधिबाट अल्पकालीन र दिर्घकालीन लगानीकर्ताको रुपमा व्यक्तिगत लगानीकर्ताहरुले फरक फरक पूँजीगत लाभकर तिर्नुपर्नेछ ।