चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेश गरेको छ । वर्षभर व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीनपटक व्यवस्थापन गर्ने गरी मजदूर/कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको छ । एक वर्षमा एक करोड हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ । हालसम्म निकुञ्जभित्रका मैदान वर्षमा एक पटक मात्र व्यवस्थापनको काम गर्ने गरिन्छ । ठूला ढड्डी र मिचाहा प्रजातिको वनस्पति फालेर घाँसे मैदान व्यवस्थित गर्ने गरिन्छ ।
घाँसे मैदान आफै बन्न दिनुपर्ने भए पनि यहाँको भू–बनोट फरक भएकाले व्यवस्थापन गर्नुपरेको आचार्यले बताए । ‘निकुञ्जभित्रका घाँसे मैदान पहिलेका मानवबस्ती भएकाले मिचाहा प्रजाति, ढड्डी र बुट्यान धेरै पलाउँदा नियमित व्यवस्थापन गर्नुपरेको हो,’ उनले भने, ‘निकुञ्ज स्थापना हुनुअघि मानवबस्ती भएका क्षेत्रपछि निकुञ्जको घाँसे मैदान बनेका हुन् ।’ निकुञ्जभित्र आठ हजार ९९५ दशमलव २ हेक्टर यस्ता मैदान छन् । यसमध्ये बजेटका आधारमा अधिकतम घाँसे मैदानको व्यवस्थापन गर्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू वर्षमा बजेट कम आएकाले थोरै मात्र घाँसे मैदान निर्माणको काम गरिँदै छ । यस वर्ष ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै छ भने ३०८ हेक्टर पुरानोलाई व्यवस्थापन गरिँदै छ ।
यस वर्ष घाँसे मैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३८ लाख ३५ हजार बजेट निकासा भएको छ । तिवारीका अनुसार गतवर्ष ७०० हेक्टर घाँसेमैदान निर्माण र ४०० यस हेक्टर व्यवस्थापन गरिएको थियो । निर्माणका लागि गएको वर्ष तीन करोड ५० लाख र व्यवस्थापनका लागि ९९ लाख ५७ हजार खर्च गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ६०० हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । सो आवमा तीन करोड १० लाख खर्च गरिएको थियो । व्यवस्थापनमा २८ लाख ९९ हजार खर्च भएको निकुञ्जले बताएको छ । सोहीवर्ष ५७ दशमलव ७९ हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको थियो । कोभिडका कारण बजेट कटौती हुँदा घाँसे मैदान निर्माणमा बजेट अपुग भएको आचार्यले बताए ।