रू. ४६ अर्ब ६४ करोड लगानीका ठेक्का हस्तान्तरण हुनै बाँकी

काठमाडौं । मुलुकमा संघीयता कार्यान्वयनमा आइसकेपछि पनि प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण हुने भनिएका अर्बाैं लगानीका सडकका ठेक्काहरू अलपत्र परेका छन् । राजनीतिक नेतृत्वले इच्छाशक्ति नदेखाउँदा र प्रदेश र स्थानीय सरकारले पनि स्वामित्व लिन नचाहेपछि अहिले रू. ४६ अर्ब ६४ करोड लगानीका ४६९ ओटा ठेक्काहरू अलपत्र भएका हुन् । महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनअनुसार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै जाने कुल ठेक्का संख्या १ हजार १८१ छन् । २०७२/७३ देखि २०७५/७६ सम्ममा यी ठेक्का हस्तान्तरण गर्ने निर्णय भएको थियो । तर, हालसम्म जम्मा ६०५ ओटा ठेक्का मात्रै हस्तान्तरण भएका छन् भने बाँकी ५७६ ओटा ठेक्का अझै हस्तान्तरण हुन नसकेको महालेखापरीक्षकको २०७६/७७ को वार्षिक प्रतिवेदनले औंल्याएको छ । समयमा हस्तान्तरण नहुँदा रू. २६ करोड १४ लाख खर्च गरी निर्माण भएका सडक संरचनाहरू बिग्रन गएकोले लगानी नै खेर जाने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । तत्कालीन समयमा प्रदेश सरकार कार्यान्वयनमा नहुँदा विभागमार्फत नै यी सडकहरूको ठेक्का लागेको थियो । तर, संघीयता लागू भइसकेपछि सडक विभागको क्षेत्राधिकारभित्र रहेका निरन्तर र ठेक्का सम्झौता भएका यस्ता सडक योजनाका ठेक्काहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तय भएको थियो । सोहीअनुसार कतिपय ठेक्काहरू हस्तान्तरण भए पनि आधाजति सडक ठेक्काहरू हस्तान्तरण नहुँदा अलपत्र भई निर्माण कार्य अधुरो रहेको प्रतिवेदनमा उल्लेख छ । अहिले यी ठेक्का प्रदेश सरकारले लिन नचाहेपछि सडक विभागअन्तर्गत नै छन् । यस्ता अधुरा ठेक्का सम्पन्न गर्न बजेट विनियोजन र रकमान्तर गर्दा पनि खर्च हुन नसकेको देखिएको छ । अधुरा ठेक्काको काम गर्न २०७६/७७ मा रू. १० अर्ब ७९ करोड विनियोजन गरिएको र रकमान्तरबाट रू. ४ अर्ब ६० करोड थप गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, विनियोजित बजेट र रकमान्तर गरिएको रकम पनि खर्च हुन नसकेको उक्त प्रतिवेदनले औंल्याएको छ । महालेखापरीक्षकको प्रतिवेदनले ठेक्काको म्यादसमेत समाप्त भएको र निर्माण व्यवसायीहरूलाई दिएको मोबिलाइजेशन पेश्कीका साथै लगानी भइसकेको रकम पनि जोखिममा परेको उल्लेख गरेको छ । यी ठेक्कामा निर्माण व्यवसायीलाई दिइएको मोबिलाइजेशन पेश्की रू. २२ करोड ४ लाख पनि जोखिममा रहेको उल्लेख गरिएको छ । सडक ठेक्काहरूको दायित्व तथा स्वामित्व प्रदेश सरकारले नदिँदा करोडौं लगानी खर्चिएका संरचनाहरू क्षति भई उपयोगविहीन बन्ने देखिएको छ । सडक विभाग र मातहतका कार्यालयबाट ठेक्का व्यवस्थापन भएका सडक तथा ठेक्काहरू हस्तान्तरण गर्दै जाने नीति भए पनि अन्योल नै भएको विभागको भनाइ छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने राजनीतिक नेतृत्वले नै इच्छाशक्ति नदेखाउँदा यस्ता ठेक्काहरू हस्तान्तरण गर्न कठिन भएको बताए । ‘केन्द्रमा प्रतिनिधित्व गर्ने र प्रदेश तथा स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने नेतृत्वले यस्ता ठेक्कामा खासै चासो नदिएको अनुभव छ,’ थापाले भने, ‘नेतृत्वले नै इच्छाशक्ति र पहल नगर्दा अहिले पनि धेरै ठेक्का अलपत्र छन् ।’ यसैगरी तीनओटै तहमा एउटै नेतृत्वको सरकार भए पनि प्राथमिकता फरकफरक हुँदा पनि यस्ता ठेक्काहरू उनीहरूको रोजाइमा पर्न नसकेको देखिन्छ । संघअन्तर्गत रहेको विभागलाई राष्ट्रिय राजमार्ग, रणनीतिक सडकलगायत ठूला पूर्वाधारमा केन्द्रित हुनुपर्ने गरी स्पष्ट अधिकार दिइएको भन्दै थापाले भने, ‘अहिलेसम्म यी ठेक्काको जिम्मेवारी नलिनु भनेको राजनीतिक कारण मात्रै हो अरू कारण छैन, शायद यी ठेक्का भोट बैंक नहुँदा चासो नदिएको हुनसक्छ ।’ महालेखापरीक्षकले ती ठेक्का सम्बद्ध प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वा सडक विभाग स्वयंले निर्माण गर्ने सम्बन्धमा निर्णय गरी कार्यसम्पन्न गर्न सुझाव दिएको छ ।

सम्बन्धित सामग्री

एघार क्यासिनोले साढे तीन अर्ब राजस्व तिर्न बाँकी

गत आर्थिक वर्ष २०७९/८० सम्ममा दर्जन क्यासिनोले सरकारलाई ३ अर्ब ६० करोड १४ लाख रूपैयाँ राजस्व तिर्न बाँकी रहेको पर्यटन विभागको होटल शाखाको तथ्याङ्कले देखाएको छ।...

२ अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी

बागमती- नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले रू दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ । विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको […]

कोरोना बिमाको बाँकी रकम भुक्तानी आगामी सातादेखि

१० अर्ब ५२ करोड भुक्तानी हुन बाँकी, पहिलो चरणमा एक अर्ब ८२ करोड मात्रै भुक्तानी गरिने  करिब दुई वर्ष सर्वसाधारणलाई कोरोनाको बिमा भुक्तानी नगरेका बिमा कम्पनीहरूले आगामी सातादेखि दाबी भुक्तानी गर्ने...

विराटनगरका आधा बढीले तिर्दैनन् कर, एक अर्ब ३ करोड उठ्न बाँकी

विराटनगर महानगरपालिकाले सम्पत्ति कर, व्यावसायिक कर र घरबहाल करमात्रै १ अर्ब बढी उठाउन बाँकी रहेको पाइएको छ । महालेखा परीक्षणको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार विराटनगर महानगरपालिकामा दर्ता भएका उनीहरूले तिर्न बाँकी जम्मा रकम एक अर्ब ३ करोड ५१ लाख १२ हजार ८२५ रुपैयाँ छ । महालेखाले धेरै कर नतिर्ने संस्थाको नाम समेत उल्लेख गरेको छ । सबैभन्दा बढी कर उठ्न बाँकी भने व्यावसायिक कर रहेको छ । महानगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा जम्मा २८ हजार ४२२ करदाता

महालेखाको प्रतिवेदन: कोरोना बीमाको ६ अर्ब १६ करोड भुक्तानी बाँकी

कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ।

सङ्क्रमणकालीन न्यायका लागि रु एक अर्ब ४० करोड विनियोजन

सरकारले सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सङ्क्रमणकालीन न्याय अवयवहरू सत्य अन्वेषण, न्याय र परिपूरणका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको उल्लेख छ ।“शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गरिने छ”, बजेटमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धमा सहभागी भई महत्वपूर्ण योगदान गर्ने योद्धाहरूलाई लोकतान्त्

आन्तरिक विमानस्थलहरुबाट मात्रै एक अर्ब ७० करोड बक्यौता उठाउन बाँकी

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थलहरुबाट मात्रै करिव एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उडड्यनसम्बन्धि समस्या र...

कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौँ । आज (सोमबार) कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भयो । सो कारोबार रकममध्ये हाइड्रोपावर कम्पनीहरुको मात्रै २ अर्ब ८ करोड रुपैयाँको भयो । रकमका आधारमा सोमबार आधाभन्दा बढी अर्थात् ५६.५ प्रतिशत कारोबार हिस्सा जलविद्युत् कम्पनीहरूले मात्रै ओगटेको छ । बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको बैङ्किङ, बीमा, फाइनान्स, विकास बैङ्क, […]

उड्डयन प्राधिकरणले उठाउन बाँकी बक्यौता १ अर्ब ८२ करोड

१४ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, संघ-संस्था र कम्पनीसँग उठाउन बाँकी बक्यौता करिब दुई अर्ब रूपैयाँ पुगेको छ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्राधिकरणलाई सो बक्यौता उठाउने कार्यायोजना बनाएर पेश गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणले समितिलाई बुझाएको विवरणअनुसार स्वदेशी तथा विदेशी निकाय, संघसंस्थाले प्राधिकरणलाई १ अर्ब ८१ करोड […]

कोरोना बीमाको ६ अर्ब भुक्तानी बाँकी

काठमाडौं। गत वर्ष २०७७ सालको वैशाख पहिलो सातादेखि सुरु भएको कोरोना बीमामा परेको दाबीको ६० प्रतिशत भुक्तानी अझै बाँकी छ। हालसम्म कोरोना संक्रमित भएका एक लाख १४ हजार ६०० बिमितले कुल १० अर्ब ९७ करोडको दाबी भुक्तानी गरेका थिए। त्यसमध्ये ४१ हजार संक्रमितले ४ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी पाएका छन्। बाँकी ६६ हजार ६०० संक्रमितले अझै भुक्तानी नपाएका हुन्।