नेपाल फाइनान्सको हकप्रद शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको लिलामीमा विक्री गरिएको अवितरित ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।    

सम्बन्धित सामग्री

दुई कम्पनीको हकप्रद शेयर सूचीकृत

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता र मल्टीपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । यी दुबै कम्पनीको हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । मल्टीपर्पस फाइनान्सले गत भदौ १० गते देखि ३१ गते सम्म निष्कासन गरेको ३५ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । त्यस्तै अपि पावर कम्पनीले साउन ३१ गते देखि भदौ १९ गते सम्म निष्कासन गरेको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

हकप्रदमा छैन लगानीकर्ताको आकर्षण, अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता बिक्ला ?

काठमाडौं । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम भएको छ । कम्पनीहरूको हकप्रद शेयर निष्कासनमा परेको आवेदनका आधारमा पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम देखिएको हो ।  सार्वजनिक निष्कासनमा एक वित्त कम्पनीसहित चार कम्पनीको हकप्रद शेयर विक्री भइरहेको छ । अपि पावरको ४० प्रतिशत, अरुण काबेली पावरको शत प्रतिशत, मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत र सिनर्जी पावरको ५० प्रतिशत हकप्रद विक्रीमै रहेको हो ।  यी कम्पनीहरूको हकप्रद खरीदका लागि निकै कम आवेदन परेको छ । धेरै समयपछि सार्वजनिक निष्कासनमा एकै पटक यति धेरै कम्पनीको हकप्रद शेयर विक्रीमा आएको हो । यसैबीच अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रदसमेत भदौ १८ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ । अपर तामाकोशीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । सोही पूँजी बराबर कम्पनीले असोज ७ गतेसम्म हकप्रद विक्री गर्ने तयारी गरेको हो ।  शत प्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालीन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कुनै समय लगानीकर्ताको प्रमुख आकर्षण अपर तामाकोशीको शेयरमा थियो । पछिल्लो समय बजार घट्दै जाँदा यो कम्पनीको शेयर मूल्यसमेत घटेको छ । पछिल्लो कारोबार दिन अपर तामकोशीको शेयर मूल्य प्रतिकित्ता २२२ रुपैयाँ ५० पैसा छ ।  धितोपत्र दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गरी ३ हजार २०० विन्दु कायम गरेको समयमा अपर तामाकोशीको शेयर मूल्य प्रतिकित्ता ८०० रुपैयाँभन्दा बढी थियो । दोस्रो बजारमा हाल कायम मूल्यले पनि हकप्रद शेयरमा प्रभाव पार्ने गर्दछ । अहिले दोेस्रो बजारमा सूचीकृत कम्पनीको शेयर मूल्य निकै कम हुनु र लगानीयोग्य रकम पर्याप्त भए पनि चर्को ब्याजदरका कारण कर्जा लिन नसक्ने अवस्थाले पनि हकप्रद शेयर खरीद गर्न नसकेको लगानीकर्ताको भनाइ छ ।  बजार घटिरहेकाले पनि लगानीकर्ताहरू चर्को ब्याजमा कर्जा लिएर हकप्रद शेयरमा लगानी गर्न डराइरहेका छन् । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो ।  कम्पनीले असार २२ गते शत प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बोर्डबाट स्वीकृति पाएको करिब २ महीनामा हकप्रद निष्कासन गर्न लागेको हो ।  हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् ।  हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष छ भने सहविक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ ।  कम्पनी अझै नोक्सानीमा  २०७८ भदौ २५ गतेदेखि ४५६ मेगावाट क्षमताको माथिल्लो तामकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको यस कम्पनी अझै नोक्सानीमा छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको हो । गत वर्ष कम्पनीको नोक्सानी बढेको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी मात्र थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो ।  अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ७ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रहेको हो । वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ३ करोड ८१ लाख रुपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानी समेत अघिल्लो वर्ष २० लाख रुपैयाँभन्दा बढी भएकोमा गत वर्ष २ करोड ४५ लाख रुपैयाँभन्दा बढी भएको छ ।  विद्युत विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ८ अर्ब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ६ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीले लिएको दीर्घकालीन कर्जा अघिल्लो वर्षभन्दा गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रहेको दीर्घकालीन कर्जा गत वर्ष ७३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालीन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रुपैयाँ रहेकोमा गत वर्ष ६ अर्ब पुगेको छ । गत चौथो त्रैमाससम्म कम्पनी ३५ रुपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमै  छ । प्रतिशेयर नेटवर्थ भने ३४ रुपैयाँ ६७ पैसा छ ।

बेष्ट फाइनान्सको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा विक्री गरेको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २९ लाख ७१ हजार ९३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले वैशाख ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव २७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । दुवै कम्पनीका हकप्रद शेयर र बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेशनसहित ३ ओटा कम्पनीको शेयर सूचीकृत

जेठ १०, काठमाडौं । तीन  ओटा अलग - अलग कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्सको शेयर सूचीकृत भएको हो ।  साल्ट ट्रेडिङ कर्पोरेशन  लिमिटेडको २ लाख ३० हजार ४८२ दशलमव ९० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी सेन्ट्रल फाइनान्सले ६ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । कम्पनीले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  यसैगरी समृद्धि फाइनान्स कम्पनीको १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।    बोनस शेयर र हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

१.७७ % बढेर २८३४.१३ विन्दुमा नेप्से, अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ७७ प्रतिशत अर्थात् ४९ दशमलव १९ अंकले बढेको छ । यो दिन नेप्से परिसूचक २ हजार ८३४ दशमलव १३ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३२ ओटा धितोपत्रको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर ७७ हजार १५ पटकमा रू. ६ अर्ब ७२ करोड ४५ लाख २६ हजारमा खरीदविक्री भएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १६ करोड ८३ लाख २२ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५१० दशमलव ९० कायम भएको छ । हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ ।  त्यसैगरी दोस्रोमा गोर्खाज फाइनान्सको रू. १६ करोड २६ लाख ७२ हजार बरावरको शेयर खरीदविक्री भएको छ । यो दिन पाँच ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।  यो दिन सबैभन्दा बढी शेयरमूल्य घट्नेमा माउण्टेन इनर्जी नेपाल रहेको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ३ दशमलव ५२ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १७७ मा झरेको हो । त्यसैगरी दोस्रोमा नेपाल एसबिआई बैंकको शेयरमूल्य २ दशमलव ०१ प्रतिशत घटेर प्रतिकित्ता रू.३८६ मा झरेको छ ।  नेप्सेले मंगलवार २ हजार ८०० विन्दुलाई पार गरेको छ । पुस शुरु भएसँगै बजार बढ्दो प्रवृत्तिमा देखियो । यसरी लगातार बजार बढिरहँदा माघ लागेपछि नि अझै बजार बढ्ने अनुमान लगाउन सकिन्छ । माघ लागेसँगै सूचीकृत कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा पनि बजार बढ्न टेवा पुग्नेछ । त्यसो त तरलता सहज हुँदै गएको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांशमा रोक लगाएर बोनस शेयरमा जोड दिन  निर्देशन दिएको छ ।   कोरोना संक्रमण फैलिन थालेसँगै अन्य लगानीका क्षेत्रहरु संकुचन हुन थालेका छन्  । स्थानिय निकायको निर्वाचन तिथि पनि नजिक आइरहेको छ ।  यसकारणले पनि बजार बढ्ने देखिन्छ ।

समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत

भदौ १६, काठमाडौं । समृद्धि फाइनान्सको हकप्रद शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले १४ लाख २० हजार ७१८कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । अव यो शेयर शेयरधनीले बिहीवारदेखि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासनमा विक्री नभएको शेयर लिलामी गरेर शेयर सूचीकृत गराएको हो ।

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर सूचीकृत*

वैशाख १४, काठमाडौं । मल्टीपर्पस  फाइनान्सको हकप्रद शेयर  मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । *यसअघिको समाचारमा मल्टीपर्पस  फाइनान्सको हकप्रद शेयर सूचीकृत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।