सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुबारीमा रहेको सिद्धिगणेश माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षालाई प्रविधिमैत्री बनाएर सिकाइमा गुणस्तर बढाउने उद्देश्यले एक शिक्षक, एक ल्यापटप कार्यक्रमअन्तर्गत उक्त ल्यापटप वितरण गरिएको हो ।
नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकारले विद्यालयलाई १६ लाख ९१ हजार ४५ रुपैयाँ बजेट विनियोजन गरको थियो । सोही बजेटबाट विद्यालयमा अध्यापन गराउने सम्पूर्ण २८ शिक्षकलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश सरकारका सांसद एवं पूर्वसामाजिक विकासमन्त्री युवराज दुुलालले शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गरे । सांसद दुलालले गुणस्तरीय र समयानुकूल शैक्षिक आवश्यकतालार्ई प्रविधिसँग जोड्न शिक्षकलाई ल्यापटप वितरण गरिएको बताए । सामग्री पाउनु मात्रै उपलब्धि नहुने हुँदा सही सदुपयोग गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन शिक्षकले प्रयत्न गर्नुपर्ने उनले सुझाए ।
दुलालले भने, ‘विद्यार्थीको रुचि र उनीहरूलाई श्रव्यदृश्यमार्फत साक्षात्कार गराउने प्रदेशको उद्देश्यलाई शिक्षकले पूरा गर्नुपर्दछ ।’ आफू नेतृत्वमा रहँदा सामाजिक विकास मन्त्रालयले अगाडि सारेको नमुना विद्यालय विकास कार्यक्रम सफल भएको उनको दाबी थियो । नमुना विद्यालयले अघि सारेका कार्यक्रम अन्य विद्यालयले समेत अनुशरण गर्नुपर्ने आवश्यकता उनले औंल्याए । कार्यक्रममा वडाध्यक्ष उमाप्रसाद दुलालले विद्यालय सम्पूर्ण पूर्वाधारले पूर्ण भइसकेकाले अब शैक्षिक अवस्था सुधारमा ध्यान दिइने बताए ।