जब म काठमाडौंबाहिर निस्कन्छु, देशको दशा झल्काउने प्रतिनिधि पात्र वा घटना फेला परिहाल्छन् । हालै राजधानी नजिकैको जिल्ला सिन्धुपाल्चोकको एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा स्वयंसेवा गर्दै थिएँ । एक सत्तरीवर्षे वृद्ध बिरामी खुला मुख लिएर आए । पाँच दिनअगाडि गालाको जोर्नी खुस्केपछि उनको त्यो हालत भएको रहेछ । मुखै बन्द नभएपछि खाना खानु त परै जाओस्, थुक निल्नै कठिन । तैपनि किन पाँच दिनसम्म अस्पताल नआएको भनेर सोधें । त्यहाँसम्म आउने गाडीभाडासम्म नभएपछि उनी पीडा सहेर घरै बसेका रहेछन् ।