हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरूको बीमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले गर्ने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आबद्ध ग्राहक सदस्यहरूको म्यादी जीवन बीमाका लागि सम्झौता भएको छ । लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र सहकारी संस्थाका अध्यक्ष बालकृष्ण पाण्डेयले उक्त सम्झौतामा हस्ताक्षर गरे ।  बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आईटी सल्लाहकार दीपेन्द्र पौडेलको समेत उपस्थिति थियो ।  उक्त अवसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरूको समेत बीमा गरिने र आवश्यकता अनुसार अन्य योजनाहरूमा पनि सहकार्य गरिने जानकारी दिए ।  रूपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरूमा उद्यमशीलता विकास गर्न लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

सम्बन्धित सामग्री

सानिमा रिलायन्स लाइफले विलम्ब शुल्क छुटसहित बीमा लेख नवीकरण गर्ने

काठमाडौं र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमा लेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान पुस १ देखि २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । पुनर्जागरण अभियानअन्तर्गत बीमा लेख अवधिभित्र एक पटकमात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बीमा […]

१० जीवन बीमा कम्पनीको पूँजी पुग्न बाँकी : हकप्रद र बोनस शेयरबाट पुर्‍याउने योजना

काठमाडौं। बीमा कम्पनीहरूको पूँजी वृद्धि अभियानले हालसम्म पूर्णता पाउन सकेको छैन । नेपाल बीमा प्राधिकरणले २०७८ साल चैतमै जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवनलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । त्यसबमोजिमको पूँजी कायम गर्न प्राधिकरणले २०८० साल असार मसान्तसम्मको समयसीमा तोकेको थियो । समयसीमा सकिएको ५ महीना बितिसक्दासमेत धेरैजसो कम्पनीहरूले तोकिएको चुक्ता पूँजी कायम गर्न सकेका छैनन् । प्राधिकरणका कानून विभाग प्रमुख साम्भराज लामिछानेले पूँजी वृद्धिका लागि तोकिएको समयसीमा सकिए पनि कम्पनीहरूलाई कारबाही नगरिएको जानकारी दिए । गत असार मसान्तसम्म समयसीमा दिएकाले उक्त अवधिसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने वार्षिक साधारणसभासम्म कम्पनीहरूले छूट पाउनुपर्ने धारणा उनको छ । कतिपय कम्पनीमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र मर्जर प्रक्रियाका कारण थप पूँजीको निर्णय लिन ढिलाइ भएको उनको भनाइ छ । जीवन बीमा कम्पनीमध्ये मेटलाइफ बाहेक १३ कम्पनीले ५ अर्ब रुपैयाँका दरले पूँजी कायम गर्नुपर्नेछ । तर, हालसम्म यी कम्पनीमध्ये तीनओटाको मात्र तोकिएको पूँजी कायम भएको छ । मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिई अघि बढेका कम्पनीहरू त्यसपछि अपुग रकमका लागि बोनस र हकप्रद शेयरको विकल्पमा अघि बढेका छन् । १० कम्पनीमध्ये राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) को चुक्तापूँजी सबैभन्दा कम छ । यो कम्पनीलाई थप २ अर्ब ९७ करोड ५१ लाख ३ हजार रुपैयाँ पूँजी आवश्यक छ ।  सर्वसाधारणमा शेयर निष्कासनका लागि राष्ट्रिय बीमा कम्पनीका रूपमा साविक राष्ट्रिय बीमा संस्थान गत कात्तिक २० गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले आगामी दिनमा संस्थापकतर्फबाट ३ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने र सर्वसाधारणमा आईपीओ बेचेर १ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने योजना अघि सारेको छ । यो कम्पनीलाई आईपीओमा जान अझै केही समय लाग्ने देखिन्छ । यो बाहेक रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस शेयरमार्फत ६४ करोड रुपैयाँ पूँजी थप गर्ने योजना बनाएको छ । पुस २४ गतेको कम्पनी सञ्चालक समिति बैठकले १६ प्रतिशत बोनस शेयरको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । रिलायबल नेपाललाई बोनस शेयरपछि पनि ३६ करोड रुपैयाँ पूँजी आवश्यक हुन्छ ।  ४५ करोड ४४ लाख २८ हजार पूँजी आवश्यक रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले सार्वजनिक सूचनामार्फत पूँजी वृद्धिको योजना सार्वजनिक गरेको छैन । मर्जरमा गइसकेको सूर्यज्योतिले पनि बोनस या हकप्रदलाई नै पूँजी वृद्धिको माध्यम बनाउने देखिन्छ । प्रभु महालक्ष्मी लाइफले अपुग पूँजी संकलन गर्न १७ प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले पनि थप २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ पूँजी हकप्रद शेयरमार्फत संकलन गर्न लागेको छ । कम्पनीले गत असोज २९ गते हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ । थप १ अर्ब २५ करोड रुपैयाँ पूँजी आवश्यक रहेको सिटिजन लाइफले ५ प्रतिशत बोनस शेयरमार्फत १८ करोड ७५ लाख जुटाउँदै छ । बोनसपछि पनि सिटिजन लाइफलाई थप १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी पूँजी आवश्यक पर्छ । उक्त पूँजी जुटाउने सम्बन्धमा कम्पनीले निर्णय गर्न बाँकी छ ।  सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स लाइफ र एशियन लाइफले पनि थप पूँजी जुटाउनुपर्नेछ । एशियन लाइफले १ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ८० करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले १ अर्ब रुपैयाँ थप पूँजी जुटाउनुपर्ने देखिन्छ । बोनस र हकप्रदलाई नै सहारा बनाउने निश्चित भए पनि यी कम्पनीले आधिकारिक रूपमा निर्णय गरेका छैनन् ।

सानिमा रिलायन्स लाइफकाे संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन हुने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले मंगलवार एक सूचना प्रकाशित गरी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने शेयरधनीलाई निवेदन दिन अनुरोध गरेको हो । यसका लागि कम्पनीले ७ दिनभित्र काठमाडौंको नयाँ बानेश्वरस्थित कम्पनीको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा निवेदन दिन कम्पनीले अनुरोध गरेको छ । तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीबाट कुनै निवेदन नपरेको खण्डमा संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न सहमति भएको मानिने कम्पनीले स्पष्ट पारेको छ । हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिकामा संस्थापक शेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत हुने गरी बाँकी शेयर सर्वसाधारणमा परिणत गर्न सक्ने व्यवस्था छ । सोहीबमोजिम कम्पनीले १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई गत वर्ष फागुन १२ गते सम्पन्न पाँचौं वार्षिक साधारणसभाबाट समेत अनुमोदन भइसकेको छ ।

बढी बोनसदरका बीमालेखमै कम आकर्षण

काठमाडौं । जीवन बीमा कम्पनीका बढी बोनसदर भएका बीमा योजनाहरूमा सर्वसाधारणको आकर्षण निकै कम देखिएको छ । अर्को शब्दमा बीमा कम्पनीहरूले निकै थोरै ग्राहकमात्र आउन सक्ने योजनामा बढी बोनसदर कायम गरेको पाइन्छ । बढी बोनसदर निर्धारण गरिएका बीमा योजनामध्ये सबैभन्दा धेरै विक्री भएको मेट लाइफ इन्सोरेन्सले आर्थिक वर्ष २०७८/७९ मा २१ वर्ष वा सोभन्दा बढी अवधिको लागि ल्याएको शिक्षा संरक्षण बीमा योजना हो । यो योजनामा प्रतिहजारमा ८० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । यो पोलिसी उक्त आर्थिक वर्षमा ४ हजार ८६२ ओटा विक्री भएको देखिन्छ । कम बोनसदर भएका बीमालेख भने योभन्दा निकै बढी परिमाणमा विक्री भएको देखिन्छ । यसको उदाहरण नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिहजारमा ६० रुपैयाँ बोनसदर तोकेको सावधिक जीवन बीमा (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु केटाकेटी, बाल शिक्षा योजना, जीवनलक्ष्मी) योजना हो । उक्त पोलिसी सो आर्थिक वर्षमा २ लाख ९९ हजारभन्दा बढी विक्री भएको थियो । ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष (आव) २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष र त्यसभन्दा बढी अवधिको सावधिक बीमालेख योजना र सावधिक तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक बीमालेख योजनामा ३०० पोलिसी र सावधिक तथा आजीवन बीमालेख योजनामा १८७ पोलिसी उक्त आवमा विक्री भएका छन् । सूर्या लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २५ देखि २९ वर्षको एवं ३० र त्यसभन्दा माथिको चौरासी पूजा अग्रिम एकल भुक्तानी योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ९० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । यसमा २५ देखि २९ वर्षको चौरासी पूजा अग्रिम एकल भुक्तानी योजनामा कुनै पोलिसी विक्री भएनन् भने ३० र त्यसभन्दा माथिको चौरासी पूजा अग्रिम एकल भुक्तानी योजनामा दुईओटा पोलिसी उक्त आवमा विक्री भएको छ । सानिमा लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २५ वर्षदेखि माथिको सावधिक जीवन बीमा योजना (रेगुलर) र सावधिक तथा आजीवन बीमा योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमा योजना (रेगुलर) मा २२४ पोलिसी र सावधिक तथा आजीवन बीमा योजनामा ७३ ओटा पोलिसी उक्त आवमा विक्री भएको छ । युनियन लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथिको सावधिक तथा आजीवन जीवन बीमा योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७३ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक तथा आजीवन जीवन बीमा योजनामा १८४ पोलिसी उक्त आवमा विक्री भएका छन् । आइएमई लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर ३० वर्ष र त्यसभन्दा माथिको सावधिक तथा सामूहिक जीवन बीमालेख र सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक तथा सामूहिक जीवन बीमालेख योजनामा १४६ पोलिसी र सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेख योजनामा १० पोलिसी उक्त आवमा विक्री भएका छन् । सन नेपाल लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा बढी अवधिको नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन) योजनामा दिएको थियो । उक्त योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन) योजनामा ६५ पोलिसी सो वर्ष विक्री भएका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २० वर्ष वा त्यसभन्दा माथिको रिलायबल सावधिक जीवन बीमालेख योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । रिलायबल सावधिक जीवन बीमालेख योजनामा ११९ पोलिसी उक्त आवमा विक्री भएका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर ३० वर्ष वा सोभन्दा माथिको सावधिक (रेगुलर)जीवन बीमालेख योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७३ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक (रेगुलर) जीवन बीमालेख योजनामा २ पोलिसी उक्त आवमा विक्री भएका छन् । प्राइम लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २५ वर्षदेखि माथिको अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ८० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९१ पोलिसी उक्त आवमा विक्री भएका छन् । एसियन लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथिको सावधिक तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक तथा आजीवन बीमालेख योजनामा ७११ पोलिसी उक्त आवमा विक्री भएका छन् । मेट लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २१ वर्ष वा त्यसभन्दा बढी अवधिको सावधिक जीवन बीमा र शिक्षा संरक्षण बीमा योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ८० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमा योजनामा १ हजार ५८४ र शिक्षा संरक्षण बीमा योजनामा ४ हजार ८६२ पोलिसी उक्त आवमा विक्री भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर (२६ देखि ३० वर्ष) र (३० वर्ष वा त्यसभन्दा माथि) अवधिको सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी), सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा), सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा) र अन्य (जीवन साथी) योजनामा दिएको थियो । यी सबै योजनाअन्तर्गत प्रतिहजारमा ८२ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी) योजनामा २६ देखि ३० वर्षमा २ हजार ४७२ पोलिसी र ३० वर्ष वा त्यसभन्दा माथिमा २८१ पोलिसी, सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा) योजनामा २६ देखि ३० वर्षमा २३२ पोलिसी र ३० वर्ष वा त्यसभन्दा माथिमा २३८ पोलिसी, सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा) योजनामा २६ देखि ३० वर्षमा १,८१६ पोलिसी र ३० वा सो भन्दा माथि मा ५९ पोलिसी, अन्य (जीवन साथी) योजनामा २६ देखि ३० वर्षमा २८३ पोलिसी उक्त आवमा विक्री भए भने ३० वर्ष वा त्यसभन्दा माथिमा कुनै पनि पोलिसी विक्री भएका छैनन् । नेशनल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २६ देखि २९ वर्ष र ३० वर्ष वा त्यसभन्दा माथि अवधिको सावधिक जीवन बीमालेख तथा २६ वर्ष वा त्यसभन्दा माथि अवधिको सावधिक तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ८५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमालेखको २६ देखि २९ वर्षमा २,२८५ पोलिसी, सावधिक जीवन बीमालेखको ३० वर्ष वा त्यसभन्दा माथिमा २ हजार २३० पोलिसी उक्त आवमा काटिए भने सावधिक तथा आजीवन बीमालेखको २६ वर्ष वा त्यसभन्दा माथिमा कुनै पनि पोलिसी विक्री भएन । रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथिको सावधिक बीमा योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक बीमा योजनामा ३३६ पोलिसी उक्त आवमा विक्री भएका छन् । गुराँस लाइफ इन्स्योरेन्सले आव २०७६/७७ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथिको सावधिक तथा आजीवन योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक तथा आजीवन योजनामा ५४ पोलिसी उक्त आवमा विक्री भएका छन् । प्रभु लाइफ इन्स्योरेन्सले आव २०७६/७७ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथि अवधिको सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमालेख योजनामा १५३ पोलिसी र सावधिक तथा आजीवन बीमालेख योजनामा १९ पोलिसी उक्त आवमा विक्री भएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आवमा २०७६/७७ मा सबैभन्दा बढी बोनसदर (२५ वर्ष वा सोभन्दा माथि) अवधिको सावधिक (३३३)जीवन विद्या (३५२), जीवन साथी (३५७), र जीवन आनन्द (३४२), तथा ३० वर्षदेखि माथि अवधिको बाल सावधिक (३४९) योजनामा दिएको थियो । यी सबै योजनाअन्तर्गत प्रतिहजारमा ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । २५ वर्ष वा त्यसभन्दा माथि अवधिको सावधिक (३३३) जीवन विद्या (३५२), जीवन साथी (३५७) मा ३ हजार ३७० पोलिसी र २५ वर्ष वा सोभन्दा माथि अवधिको जीवन आनन्द (३४२) मा २ हजार ५९१ पोलिसी तथा ३० वर्षदेखि माथि अवधिको बाल सावधिक (३४९)मा १६ पोलिसी उक्त आवमा विक्री भएका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आव २०७६/७७ मा सबैभन्दा बढी बोनसदर २६ देखि ३० वर्षसम्मको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ५२ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । महालक्ष्मी सावधिक जीवन बीमा योजनामा ११ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

मर्जर प्रस्ताव पारितका लागि सानिमा र रिलायन्स लाईफले बोलाए साधारण सभा

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारितका लागि एकै दिन वार्षिक साधारण सभा बोलाएका छन् । दुवै कम्पनीले फागुन १२ गते वार्षिक साधारण सभा बोलाएका हुन् । रिलायन्स लाइफले लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौं र सानिमा लाईफले कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही, काठमाडौंमा सभा गर्न लागेका हुन् । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् । मर्जरका लागि सहमति भएको शेयर स्वाप रेसियोलाई दुवै कम्पनीले सभामार्फत स्वीकृति दिनेछन् ।  दुवै कम्पनीको सञ्चालकहरूको कार्यकाल साधारण सभाको दिनसम्म कायम रहेकाले नेपाल बीमा प्राधिकरणको स्वीकृतिबमोजिम एकीकृत कारोबार हुनुअघिसम्मको लागि थप गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछन् । दुवै कम्पनीको शेयर संरचना हाल संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेकोमा उक्त शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।  उल्लेखित प्रस्तावहरूसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत सभाले पारित गर्नेछ । दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २९ गते बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजका आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

५ जीवन बीमा कम्पनीको ४ अर्बको आईपिओ आउँदै, कुनको कति ?

संचालनमा रहेका नयाँ जीवन बीमा कम्पनीहरु झन्डै ४ अर्ब  रुपैयाँको आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् । पछिल्लो समय एक साथ लाईसेन्स पाएका १० वटा नयाँ जीवन बीमा कम्पनी मध्ये ५ वटा कम्पनीले ३ अर्ब ८२ करोड बराबरको आइपिओ निष्काशन गर्ने तयारी गरेका हुन् । ५ वटा कम्पनीले भने आईपिओ निष्काशन गरिसकेका छन् ।हाल सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्नेछ । त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।त्यस्तै रिलायबल नेपाल इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ मा आईपिओ निष्काशनको प्रस्ताव गरेको हो । यसो हुँदा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने छ । त्यस्तै सन नेपाल लाइफले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने घोषणा गरिसकेको छ । यद्यपि कम्पनीले बोर्डमा आवेदन भने दिईसकेको छैन । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने छ । महालक्ष्मी लाइफले पनि ६० लाख कित्ता नै आईपिओ निष्काशन गर्ने छ । यस कम्पनीले पनि बोर्डमा आवेदन दिएको छैन । आईपिओ निष्काशनपछि यी दुवै कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ । बोर्डमा आवेदन नदिएका कम्पनीले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने सम्भावना छ । यसो हुँदा निष्काशन हुने आईपिओ रकम बढ्ने छ, तर प्रिमियम थपेर निष्काशन हुने भएकोले कित्ता संख्या भने समान नै रहने छ । ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स,  रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले भने आईपिओ निष्काशन गरिसकेका छन् । ज्योतिले ६६ करोड बराबरको , युनियनले ६४ करोड ५० लाख बराबरको, प्रभुले ६० करोड बराबरको, रिलायन्सले ६३ करोड बराबरको र सानिमा लाइफले ६० करोड बराबरको आईपिओ निष्काशन गरेको हो । हेर्नुस आईपिओ निष्काशन गरिसकेका र गर्न बाँकि रहेका जीवन बीमा कम्पनीहरुको विवरण :