काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले साविक रिलायन्स लाईफ इन्स्योरेन्सका विमितहरूका लागि आर्थिक वर्ष ०७८/७९ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको हो । कम्पनीले प्रतिहजार रुपैयाँमा उक्त बोनस दर दिने भएको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म हुने उल्लेख छ । न्यूनतम प्रतिहजार १९ रुपैयाँ बोनस कम्पनीले सामूहिक सावधिक बीमालेखमा दिने भएको हो । यो बीमालेख ९ वर्षदेखि २५ वर्ष अवधिसम्मको छ । सबै अवधिका यस योजनाका विमितहरूले प्रतिहजार १९ रुपैयाँ बोनस पाउनेछन् । अधिकतम बोनस दर भने कम्पनीले सावधिक बीमा योजनाका विमितहरूलाई दिने भएको हो ।
यस योजनाअन्तर्गत २५ वर्षदेखि माथिको बीमा योजनामा कम्पनीले प्रतिहजार ७५ रुपैयाँ बोनस दिने भएको हो । अधिकतम बोनस दर रहेको २५ वर्षदेखि माथिको सावधिक बीमालेख योजना ३७३ ओटा विक्री भएको जानकारी कम्पनीले दिएको छ । साविक रिलायन्स लाइफले आर्थिक वर्ष ०७८/७९ मा विभिन्न आठ बीमालेखहरू जारी गरेको छ ।
उल्लेखित दुई योजनाबाहेक मुद्दती सुरक्षण बीमा योजना नियमित शुल्क, मुद्दती सुरक्षण बीमा योजना एक शुल्क, १५ वर्षे अग्रिम भुक्तानी योजना, २० वर्षे अग्रिम भुक्तानी योजना, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजना, सावधिक तथा आजीवन योजना र सीमित भुक्तानी सावधिक योजना कम्पनीले जारी गरेको हो ।
मुद्दती सुरक्षण बीमा योजना नियमित शुल्क बीमा योजनामा कम्पनीले २४ रुपैयाँ, मुद्दती सुरक्षण बीमा योजना एकल शुल्कमा ५४ रुपैयाँ, १५ वर्षे अग्रिम भुक्तानी योजनामा ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ, सावधिक तथा आजीवन योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ र सीमित भुक्तानी सावधिक योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने कम्पनीले जानकारी दिएको छ ।