फागुन ४, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत १२ ओटा जीवन बीमा कम्पनीहरुमध्ये यस वर्ष ४ ओटा कम्पनीहरुको मात्र खुद नाफा बढेको छ भने ८ ओटा कम्पनीको घटेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष नाफा बढाउनेमा नयाँ जीवन बीमा कम्पनीहरु अग्रस्थानमा देखिएका छन् । सूचीकृत ५ ओटा नयाँ जीवन बीमा कम्पनीहरुमध्ये यस वर्ष प्रभु लाईफ बाहेक अन्य चार कम्पनीले नाफा बढाएका छन् ।
यस वर्ष नाफा बढाउनेमा सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स रहेको छ ।
पुराना ८ ओटा सूचीकृत कम्पनीको नाफा भने यस वर्ष घटेको छ । सानिमा लाइफको ६९ दशमलव ३६ प्रतिशत, रिलायन्स लाइफको ३१ दशमलव ३२ प्रतिशत, ज्योति लाइफको २४ दशमलव २३ प्रतिशत र युनियन लाइफको ११ दशमलव ५७ प्रतिशत नाफा बढेको हो । सर्वाधिक नाफा वृद्धि यस वर्ष सानिमा लाइफको भएको छ ।
गत वर्ष रू. ५ करोड ५४ लाखभन्दा बढी नाफा गरेको सानिमा लाइफले यस वर्ष रू. ९ करोड ३९ लाखभन्दा बढी नाफा गरेको हो । सानिमा लाइफको यस वर्ष आम्दानी बढेकाले नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष रू. ७ करोड १७ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १२ करोड ९८ लाखभन्दा बढी आम्दानी गरेको छ ।
यस वर्ष सर्वाधिक नाफा घट्नेमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । गत वर्ष रू. ४२ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको नेपाल लाइफ इन्स्योरेन्सले यस वर्ष रू. १३ करोड ४ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो ।
यस वर्ष नेपाल लाइफले नोक्सानी व्यवस्थाका लागि रू. १७ करोड ६६ लाखभन्दा बढी रकम छुट्याएकाले खर्च बढ्न गई खुद नाफा ६९ दशमलव ६४ प्रतिशत घट्न गएको हो । गत वर्ष रू. १५ करोड ८८ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष नोक्सानी व्यवस्थाका कारण बढाएर रू. ३२ करोड १ लाखभन्दा बढी खर्च गरेको छ ।
सूचीकृत जीवन बीमा कम्पनीको खुद नाफा : रकम रू. हजारमा
स्रोत : कम्पनीको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण