शिक्षा देशको समग्र विकासको आधार भएकाले यसको विकासमा सबै देशले जोड दिएका हुन्छन् । व्यक्तिको मात्र नभई राज्यको पनि समग्र विकासमा शिक्षा अत्यन्तै महत्त्वको विषय हो । आज शिक्षा समयानुकूल हुन नसक्दा बेरोजारी बढेको छ भने व्यावहारिक शिक्षाको अभावका कारण अनेकौं समस्या देखिएको छ । शीपमूलक र व्यावहारिक शिक्षा नहुँदा शिक्षा बेरोजगारी उत्पालन गर्ने कारखानाका रूपमा परिणत हुन पुगेको छ ।
राज्य शिक्षाबाट पन्छिन खोजेको देखिन्छ । सरकारी विद्यालयमा शिक्षाका लागि बजेट वृद्धि गर्नुपर्ने माग उठिरहेको छ । तर, सरकारले भने नसुनेझैं गरिरहेको छ । विगत ५ वर्षदेखि कुल बजेटको २० प्रतिशत रकम शिक्षाक्षेत्रमा विनियोजन गर्नुपर्ने आवाज चर्को रूपमा उठेको छ । तर, त्यसको सुनवाइ भएको छैन । हाल शिक्षामा विनियोजन गरिएको बजेटको नब्बे प्रतिशत त शिक्षकको तलबमा नै खर्च हुने गरेको छ । शिक्षाले मानवलाई सृजनशील, व्यावहारिक, समस्या सामना गर्न सक्ने र विवेकीसमेत बनाउँछ ।
हामी कृषि प्रधान देशका नागरिक हौं । तर, यहाँ विद्यालयमा कृषि विषयको न अध्यापन हुन्छ न त कृषि विश्व विद्यालय नै स्थापना हुन सकेको छ । विद्यालयमा कृषि विषय अध्यापन गराउँदै विविध खालका व्यावहारिक ज्ञान दिलाउने कार्य गर्न सकिरहेका पनि छैनौं । कम्तीमा पनि बाह्र कक्षा पार गरेपछि आफै केही काम गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने हो । तर, यो कार्य हुन सकेको छैन । देशका विभिन्न स्थानमा प्राविधिक शिक्षालय नभएका होइनन् । तर, त्यसबाट पनि अपेक्षित रूपमा स्वरोजगारी सृजना गर्न सक्ने नागरिक तयार गर्न हामी चुकिरहेका छौं । हामी अहिले पनि राष्ट्रिय शिक्षा प्रणाली २०२८ कै वरिपरि घुमिरहेका छौं ।
समयअनुसारको वैज्ञानिक, आधुनिक अनि व्यावहारिक शिक्षा प्रणाली लागू गर्नुपर्नेमा त्यो भने हुन सकेको छैन । समयको मागलाई ख्याल गर्दै शिक्षामा पनि व्यापक रूपमा परिवर्तन गर्नुपर्ने हुन्छ । राज्यले शिक्षाको विकासमा ध्यान केन्द्रित गर्नुपर्छ । निजीक्षेत्रलाई अगाडि सारेर शिक्षाबाट राज्य पन्छिन मिल्दैन । सरकारी विद्यालय निःशुल्क भनिए पनि विभिन्न शीर्षकमा शुल्क लिने कार्य भएरहेको छ जुन गैरकानूनीसमेत हो । विद्यालय जाने उमेरसमूहका लाखौं विद्यार्थी अहिले पनि विद्यालय जान सकेका छैनन् । यसको मुख्य कारण गरीबी नै देखिन्छ ।
गरीबी निवारण नभएसम्म शिक्षाको पहँच सबै नागरिकमा पुर्याउने कार्य सम्भव देखिँदैन । हामीले अझै पनि विद्यार्थीकेन्द्रित शिक्षा बनाउन सकेका छैनौं । अब हामीले गर्नुपर्ने पहिलो काम भनेको विद्यार्थीलाई केन्द्रमा राखेर नीति निर्माण गरी उनीहरूलाई समयसापेक्ष शिक्षा प्रदान गर्न सक्नुपर्छ ।
विद्यालयको स्रोतसाधन तथा निर्णय विद्यार्थीको हितमा छ कि छैन हेर्नुपर्छ, जसले शिक्षाको सही गति निर्धारण गर्छ । वास्तवमा यो विद्यालय सुधारका लागि गुरुमन्त्र नै हुनेछ । अनुशासन सजाय होइन यो त आत्मनियन्त्रण हो भन्ने बुझाउन सकेनौं ।
विद्यालयमा आज पनि डरत्रास, धम्कीले गर्दा हजारौं विद्यार्थी तनावमा परेका छन् । आज पनि विद्यालय विद्यार्थीमैत्री बन्न सकेका छैनन् । विद्यार्थीलाई अध्ययन गराइने पाठ्यक्रमा भने विद्यार्थीमैत्रीका पाठहरू समेटिएका छन् । तर, व्यवहारमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन । मानव सर्वश्रेष्ठ प्राणी र बुद्धिमान भएकै कारण आत्मअनुशासन जगाउनु उत्तम हुन्छ । आत्मअनुशासनको आन्तर्य निरन्तर सुधारमा विश्वास गर्नु हो । विद्यार्थीलाइ पिट्ने, थर्काउने, तर्साउने गर्दै लाद्ने अनुशासनले अब समाधान दिन सक्दैन । हामीले विद्यालयको वातावरण यस्तो निर्माण गर्नुपर्छ कि विद्यार्थीले आफै पालना गरून् । लादिने अनुशासन सजिलो छ तर आत्मअनुशासन कठिन छ ।
अर्को महत्त्वपूर्ण सवाल भनेको सामाजिकीकरण वा समानुभूतिको अभाव हो । आज हामी व्यक्तिगत रूपमा सफल छौं, तर सामूहिक रूपमा असफल छौं किनभने हाम्रा विद्यार्थीलाई हामीले सामूहिक भाव सिकाएका छैनौं । एकअर्काप्रति प्रेम, विश्वास, आदर, हेरचाह हाम्रो सिकाइ बन्न सकेको छैन । हाम्रा विद्यालयले प्रतिस्पर्धाको भावना घटाएर सामूहिक भाव जगाउन सकेको भए असफलताको भूत डिप्रेशन र आत्महत्या पनि घट्थ्यो कि ? हाम्रा शिक्षालयले तिमीहरू महत्त्वपूर्ण छौ र तिमीहरू सक्छौ भन्ने भाव नै दिन सकेको छैन । हामी सुसंस्कृत समाज निर्माण गर्न, समानतामा आधारित समृद्धि प्राप्त गर्न चेतनशील, विवेकशील नागरिक निर्माण गर्न चाहन्छौ भने अब हामीले विद्यालयको पुनर्निर्माण गर्न जरुरी छ ।
शिक्षामा जति मात्रामा लगानी भएको छ त्यसको उपलब्धि लिन हामी असफल भइरहेका छौं । आजका विद्यार्थीमा नैतिकता, इमानदारी, सहयोग, सद्भावजस्ता मानवीय गुण हराउँदै गएका छन् । वर्तमान समयमा विद्यार्थीलाइ संस्कार सिकाउनु जरुरी भएको छ, यसको अभावमा कुनै पनि व्यक्ति असल नागरिक बन्न सक्दैन । आजका सबैजसो विद्यालय कुनै दूरदृष्टि र लक्ष्यविना चलिरहेका छन् । जुन विद्यालय आधारभूत मूल्यमान्यताको जगमा उभिएका छन् तिनै मात्र सफल भएका छन् ।
आजको हाम्रो शिक्षा शीपमूलक हुन नसक्दा समस्या सृजना भइरहेको छ । चिनियाँ उखानझैं हुनुपर्छ, माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउनुपर्छ । कम्तीमा पनि एउटा तह पार गरेपछि उसले आफै कुनै काम गर्न सकोस् । यदि हामीले शीपमूलक शिक्षा प्रदान गर्न सकेका भए बेरोजगारीको यो अवस्थाको सामना गर्नुपर्ने थिएन ।
अबका दिनमा हामीले शिक्षामा भएका कमजोरीलाई हटाउँदै यस क्षेत्रमा लगानीको मात्रा पनि बढाएर थप उपलब्धि प्राप्त गर्न सक्छौं । शिक्षाको विकासका लागि नीति निर्माणको तहदेखि नै निकै ध्यान दिनुपर्ने हुन्छ । समयसापेक्ष पाठ्यक्रम राख्ने, शिक्षामा राजनीति नगर्ने, शीपमूलक शिक्षामा जोड दिने, व्यावहारिक शिक्षालाई विस्तार गर्नेजस्ता सुधारका कार्य गर्नुपर्ने खाँचो रहेको देखिन्छ । देशको समग्र विकासको आधारका रूपमा रहेको शिक्षालाई समयसापेक्ष बनाउँदै लैजानु आजको मुख्य आवश्यकता पनि हो ।
लेखक विश्वशान्ति कलेजमा समाजशास्त्र अध्यापन गर्छन् ।